२०८२ आश्विन २१, मंगलवार

सुर्खेत । कर्णाली प्रदेशमा यो वर्ष साउन १ गतेदेखि अहिलेसम्म ३३३ वटा विपद्का घटनाहरू घटेका छन्। ती घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने २९ जना घाइते र १ जना बेपत्ता भएका छन्।

प्रदेश प्रहरी कार्यालय कर्णालीकाे तथ्याङ्क अनुसार, विपद्को कारण ५९ वटा चौपायाको ज्यान गएको छ र ३७० वटा भौतिक संरचनामा क्षति पुगेको छ। जिल्लागत विवरण हेर्दा, सबैभन्दा धेरै विपद्का घटना रुकुम पश्चिममा भएका छन्।

त्यहाँ ७९ वटा विपद् घटना घटेका छन्, जसमा २ जनाको मृत्यु र ४ जना घाइते भएका छन्। १७ वटा चौपाया मरेका छन् भने ७७ वटा भौतिक संरचनामा क्षति पुगेको छ।

जाजरकोट जिल्ला दोस्रो बढी प्रभावित देखिएको छ। यहाँ ६९ वटा विपद्का घटना रेकर्ड भएका छन्। यी घटनामा ४ जना घाइते भएका छन् र १ जना बेपत्ता छन्। जाजरकोटमा १० वटा चौपायाको मृत्यु भएको र ८१ वटा संरचनामा क्षति पुगेको छ।

मानवीय क्षतिका हिसाबले सुर्खेत जिल्ला अगाडि छ। सुर्खेतमा २७ वटा विपद् घटनाबाट ३ जनाको मृत्यु र ७ जना घाइते भएका छन्। यहाँ ३ वटा चौपाया मरेका छन् र २२ वटा संरचनामा क्षति पुगेको छ।

दैलेखमा ३५ वटा विपद् घटना भएका छन्। ती घटनामा ५ जना घाइते भएका छन्, ९ वटा चौपाया मरेका छन् र २७ वटा संरचनामा क्षति पुगेको छ। कालिकोटमा ४७ वटा घटनाबाट १ जना घाइते भएका छन् र ४६ वटा संरचनामा क्षति पुगेको छ। सल्यानमा १४ वटा घटनाबाट ४ वटा चौपाया मरेका छन् र २९ वटा संरचनामा क्षति पुगेको छ।

जुम्लामा १८ वटा विपद् घटना भए पनि मानवीय क्षति शून्य छ, यद्यपि १८ वटा संरचनामा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार खनालले जानकारी दिए। मुगुमा १६ वटा घटनाले १ जनालाई घाइते बनाएको छ, ७ वटा चौपाया मरेका छन् र २० वटा संरचनामा क्षति पुगेको छ।

डोल्पामा १३ वटा विपद् घटना भएका छन्। ती घटनामा १ जनाको मृत्यु र ७ जना घाइते भएका छन्। १ वटा चौपाया मरेको छ र १० वटा संरचनामा क्षति पुगेको छ। हुम्लामा १५ वटा घटनामा मानवीय क्षति नभए पनि ७ वटा चौपाया मरेका छन् र ४० वटा संरचनामा क्षति पुगेको छ।

अन्य प्रदेशको तुलनामा यस वर्ष कर्णाली प्रदेशमा मनसुन तथा अन्य विपद्का घटनाले ठुलो जनधनको क्षति नभए पनि उल्लेख्य भौतिक तथा आर्थिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।