मंसिर २, २०८२

सुर्खेत। कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको रुपमा उपसचिव सुरेन्द्रबहादुर शाहीलाई खटाउने कर्णाली सरकारले निर्णय गरेको छ। सोमबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उपसचिव शाहीलाई बढीमा ६ महिनाको लागि कामकाज खटाउने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए।

यस्तै, बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सगठन संरचना स्वीकृत गरेको छ। जसमा एक जना कार्यकारी निर्देशक उपसचिव शाहीसहित १४ जना नयाँ दरबन्दी स्वीकृत गरिएको छ।

प्रशिक्षण प्रतिष्ठानको एक निर्देश सहितको १४ जनाको संरचनामा शाखा अधिकृत/वरिष्ठ शाखा अधिकृत ७/८ तहको प्रशासन सेवा समूहका २ जना, वरिष्ठ शाखा अधिकृत/प्रशासकीय अधिकृत ५/६ तहको प्रशासन सेवा समूहका ४ जना, वरिष्ठ लेखा सहायक/लेखा अधिकृत ५/६ तहको १ जना, हलुका सवारी चालक तहबिहीन २ जना र कार्यालय सहयोगी तहबिहीन ४ जनाको दरबन्दी तेरिज गरिएको छ।

यस्तै, शाहका अनुुुसार बैठकले कर्णाली प्रदेश बाल विवाह अन्त्य सम्बन्धी रणनीति, २०८२ स्वीकृत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गाभ्ने, प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसुची हेरफेर र कर्णाली खर्च मापदण्ड २०८२ स्वीकृत गरेको छ।