काठमाडौं। नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिए।
‘यो अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ। हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने (नियन्त्रणमा) लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तराष्ट्रिय कानुनहरूको उल्लंघन हो’, महासचिव दाहालले भने, ‘यसलाई तत्काल रोक्नुपर्छ । राज्य आतंक नरोकिए यो खेदजन्य कार्यविरुद्ध आन्दोलित हुनुको विकल्प छैन।’
प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार समाचार कक्षबाट नियन्त्रणमा लिएको छ। उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन्। उनलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
शुक्रबार नै नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै पाँच जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका छन्।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भनेका छन्।
शुक्रबार नै अर्का पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।





