२०८२ कार्तिक १३, बिहीबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो जर्सी कर्णालीका पाटनमा सार्वजनिक गर्ने भएको छ।

जाजरकोट र जुम्लाको सीमा क्षेत्रको कुशेपाटनमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नदाइ डावबाट पनि जर्सी सार्वजनिक गर्न लागिएको हो। यसले नदाइ डावको प्रचार हुनुका साथै कर्णाली याक्सप्रति स्थानीयको अपनत्व हुने विश्वास गरिएको छ।

जर्सी सार्वजनिक गर्ने तयारी गरिएको नदाइ डावको उचाइ ४ हजार मिटरभन्दा माथि छ। यो क्षेत्रमा अहिले अत्यधिक हिमपात भइरहेको छ । त्यसैले जर्सी सार्वजनिक मिति भने मौसम हेरेर तय गरिने बताइएको छ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा विदेशी खेलाडीहरु अष्ट्रेलियाका अलराउण्डर विलियम बसिस्टो, नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डाउड, स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्ध भएका छन्।

कप्तान सोमपालसहित नेपाली खेलाडीहरु गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री रहेका छन्।