सुर्खेत । गत भदौ २४ गते विभिन्न कारागारबाट फरार भएका दुई जना कैदी सुर्खेतमा प्रहरीले नियन्त्रणमा लिएका छन्। प्रहरीका अनुसार जिल्ला बाँके नौबस्ता कारागारबाट फरार भएका कैदी रतन वादीलाई सुर्खेतको गुर्भाकोट नगरपालिका–६ नक्कलेमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
उनलाई प्रहरी चौकी मेहलकुनाबाट खटिएको टोलीले असोज २० गते बिहान करिब १० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जेनजी आन्दोलनको क्रममा काठमाडौँको नख्खु कारागारबाट फरार भएका गंग बहादुर गुरुङ ३६ वर्ष पनि पक्राउ परेका छन्। उनी सुर्खेतको लेकबेसी नगरपालिका–८ निवासी हुन्।
गुरुङलाई असोज २० गते बिहान करिब ११ बजे आफ्नै वतन घरबाट इलाका प्रहरी कार्यालय लेकबेसीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दुबै जना ज्यान सम्बन्धी मुद्दाका कैदी हुन्। पक्राउ परेका दुबै कैदीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी जिल्ला कारागार सुर्खेतमा बुझाइएको छ।

