झरनाकाे इतिहास : मस्टा देवताका पैचालो भाइले राक्षसकी छोरीसँग विवाह गरेपछि पैचालबाट पचालझरना

२०८२ आश्विन २१, मंगलवार

सुर्खेत । कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारदेखि १६ कोस उत्तरमा अवस्थित पचालझरना । पचालझना गाउँपालिकाको राम्नाकोटको खार्दुगाउँमा रहेको पचालझरना ३८१ मिटर अग्लो छ। हाल पर्यटकको पर्खाइमा रहेको पचालझरना देशको पर्यटकीय गन्तव्यमा सूचीकृत समेत भइसकेको छ। यो नेपालको सबैभन्दा अग्लो झरना हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको नेपालका सय प्रमुख गन्तव्यमध्ये पचालझरनालाई ६४ औँ स्थानमा सूचीकृत छ।

झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सूचना गाउँपालिकालाई हस्तान्तरणसमेत गरेको छ । कालीकोटको खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिकाको बिचमा पर्ने पचालझरनाबाट बग्ने पानी चुलीमालिकाको छेउबाट मूल फुटेर आउँछ ।

ह्यातुङझरना जुन तेह्रथुम जिल्लामा पर्ने ह्यातुङझरना देशको दोस्रो अग्लो झरना मानिएको छ । यो ३६५ मिटर अग्लो छ। पचालझरना समुद्री सतहबाट ९७० मिटर उचाइमा रहेको छ ।

पचालझरना पुग्नका लागि कर्णाली कोरिडोरको लाफा गाउँबाट तीन घण्टा पैदल हिँडेपछि एक घण्टा गाडीमा यात्रा गर्नुपर्छ। झरनाको शिरमा राष्ट्रिय पन्छी डाँफे र कालिजलगायत अन्य चराचुरुङ्गी तथा घोरल, कस्तुरी, बँदेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइन्छन्। पर्यटकलाई खान बस्न खार्दु गाउँका पाँच वटा घरमा होमस्टे पनि सञ्चालन गरिएको छ।

करिब चार हजार मिटर उचाइमा रहेको पुग मालिका हिमालको ढइगार भन्ने ठाउँमा यो झरना अवस्थित छ। उक्त ठाउँलाई ढुङ्गैढुङ्गा भएकाले ढइगार भनिन्छ र सो ठाउँमा पानी बगेको आवाज मात्र सुनिन्छ तर पानी देखिँदैन। धेरै तल आइसकेपछि मात्र पानी देख्न पाइन्छ। यहाँ बाह्रैमास र सधैँ इन्द्रेणी लाग्दछ।

सुरुमा यो पचाल छहरो नामले परिचित थियो। झरनाका सम्बन्धमा एउटा किंवदन्ती छ, देउतामध्येका ठूला र प्रतापी मस्टका १२ भाइमध्ये पैचालो पनि एक थिए। पैचालोको मन्दिर पचालझरना गाउँपालिकाको खार्दु गाउँमा रहेको छ। ती देवतालाई आफू सबैभन्दा बलियो भएको घमण्ड हुँदै आयो र उनले यसै झरनाको पिँधमा बस्ने एक राक्षसकी छोरीसँग विवाह गरे। राक्षसकी छोरी विवाह गर्नेलाई समाजमा राख्न हुन्न भनेर देवताले मिलेर विवाहपश्चात् उनीहरूलाई समाजबाट अलग गरे । त्यसपछि त्यसै छहराको पिँधमा रहेको ससुरालीमा गएर बस्न थालेपछि उक्त झरनाको नाम देउताको नामबाट पैचाल हुँदै पचालझरना हुन गएको इतिहास छ।