डोल्पा । सुलिगार्डदेखि फोक्सुण्डोसम्म पर्ने फोक्सुण्डो ट्रेलमा कर्णाली प्रदेश सरकारले २१ करोड १२ लाखका विभिन्न संरचना बनाउने भएको छ। नेपालको प्रमुख पर्यटकीय गन्तव्यभित्र पर्ने फोक्सुण्डो तालसम्म पुग्ने फोक्सुण्डो ट्रेलमा पदमार्ग, ट्रष्ट पुल, खानेपानी, प्रतिक्षालय, लगायतका संरचना बनाउने भएको हो।
उक्त बजेटबाट यी संरचनासँगै ताल आसपासका क्षेत्रमा भ्यु टावर, ढल निकास, विद्यालयका भवन, संग्रहालय र पार्कसमेत निर्माण गरिने बताइएको छ।
शे-फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने फोक्सुण्डो तालसम्म पुग्ने फोक्सुण्डो ट्रेलमा स्थानीय र पर्यटकका सहजताका लागि प्रदेश सरकारले रिङ्ग (रिङ्गबो वस्ती विकास कार्यक्रम) नै सुरूवात गरेको भौतिक पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितानले जानकारी दिए।
उनका अनुसार उक्त कार्यक्रममार्फत १६ वटा प्रतिक्षालय र दुई वटा विद्यालय भवन लगायतका संरचना निर्माण गरिने छ । उक्त कामको जिम्मा गुठीचौर जेभीले पाएको र २०८४ साल असार समान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।
कार्यक्रमको निर्माण सुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले संयुक्त रुपमा गरेका छन्।

