नेपालगन्ज । दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप२०२५ को उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ। नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक ल्याएर उपाधि जितेको हो।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले प्रथम ट्रफी हस्तान्तरण गरेका थिए।
प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीकाअनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अंक ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो। बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अंकसहित तेस्रो भएको छ।
त्यसैगरी लिटिल एञ्जेल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौंले ९, नेपालगन्ज स्विमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अंक ल्याएको क्षेत्रीले जानकारी दिए।
यो जितमा क्लबका अरेक कर्माचार्य एक्लैले ७ वटा स्वर्ण र रिजा अवालेले ५ पदक जितेका थिए। कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए। उनीहरुलाई जनही पाँच पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको थियो।
आयोजक नेपालगन्ज स्वीमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपानेले क्लब स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सकेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता पनि आयोजना गर्ने उर्जा मिलेको बताए।
क्लबले आगामी दिनमा स्थानीय स्तरमा पौडी प्राविधिक उत्पादन गरेर खेलको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे।
प्रतियोगितामा प्राविधिक सहयोग गरेको नेपाल पौडी संघ केन्द्रीय समितिले आगामी दिनमा नेपालगन्जमा विभागीय टिमसहितको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जाहेर गरेको छ।
राष्ट्रिय पौडीका पदक विजेतालाई पौडी पोखरी निःशुल्क
यस्तै, नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरी दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ का पदक विजेता खेलाडीका लागि निःशुल्क हुने भएको छ।
नेपाल पौडी संघ, नेपालगन्ज स्वीमिङ क्लबका पदाधिकारी र सदस्यहरुबीचको छलफलका क्रममा मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले यस क्षेत्रमा पौडी खेलको विकासका लागि पदकधारी खेलाडीलाई पोखरी निःशुल्क रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन्।
उनले नेपालगन्जमा रहेको पौडी पोखरीबाट खेलाडीहरुले बढीभन्दा बढी फाइदा लिनका लागि आफूले सहयोग गर्ने बताए।

