२०८२ आश्विन २४, शुक्रबार

काठमाडौं । इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेपनि उनको स्थिति हालसम्म पनि ‘अज्ञात’ देखिएको छ। सीएनएनले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा सुदूरपश्चिम घर भएका जोशीको स्थिति ‘अज्ञात’ भनिएको छ।

सीएनएनले पछिल्लो पटक ४६ जना बन्धकको सूची सार्वजनिक गरेको छ। जसमा २६ जनाको निधन भइसकेको र २० जना जीवित रहेको उल्लेख छ। विपिन र इजरायली नागरिक तामिर निम्रोदीलाई भने अज्ञातको सूचीमा राखिएको छ। सीएनएनले यो सूची इजरायली सरकारले उपलब्ध गराएको जानकारी दिएको छ।

त्यसो त बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो। त्यो भिडिओ उनी अपहरण भएको केही समयपछि खिचिएको जनाइएको थियो। जसमा उनले आफू नेपालबाट कृषिको सिक्दै, कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल आएको बताएका छन्। त्यो भिडिओ २ वर्ष पुरानो भएकाले उनको वर्तमान अवस्था अझै अस्पष्ट देखिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन्। यो सम्झौताको पहिलो चरणमा इजिप्टमा इजरायल र हमासबीच सहमति भएको थियो।

युद्धविराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ। हमासले जीवित रहेका विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ। त्यसपछि, मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ। यद्यपि, यसमा कति समय लाग्न सक्छ भन्ने स्पष्ट छैन।

इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम लागु हुने अपेक्षा गरिएको छ।