२०८२ भाद्र २१, शनिबार

राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’ भदौ २८ मा सार्वजनिक गरिने भएको छ।

‘माथिको आदेश छ’मा संग्रहित कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए।

‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्,’ उनले भनेका छन्।

‘५० दिन हिरासतमा बस्दा मलाई ३५ वटा कविता फुरेछन्। कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो। हिरासत बसाइँमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रूपान्तरण गर्न सकेछु,’ कविताबारे उनले भनेका छन्।

Laxmi bank
‘तर त्यति छोटो अवधिमा त्यति धेरै कविता मैले जीवनमा कहिल्यै लेखेको थिइनँ। हिरासत बसाइँका क्रममा कुनै दिन दुई वटा कविता पनि लेखेको रहेछु।’

मिश्रको यो दोस्रो कविता संग्रह हो। उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो।

कविता संग्रह फाइनप्रिन्टले प्रकाशन गर्न लागेको हो।