२०८३ श्रावण १७, आईतवार

वीरेन्द्ररनगर। नेपाल आयल निगम लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जिल्लामा एलपी ग्यासको आपूर्ति पर्याप्त रहेको जनाएको छ।

निगमका अनुसार साउन १ गतेदेखि १६ गतेसम्म सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा विभिन्न कम्पनीका ३१ हजार ९६३ वटा एलपी ग्यास सिलिन्डर आयात तथा बिक्री–वितरण गरिएको छ।

जुन १६ दिनको अवधिमा हालसम्मकै उच्च परिमाण रहेको नेपाल आयल निगम लिमिटेड सुर्खेतले जनाएको छ।

निगमका अनुसार सो अवधिमा भेरी ग्यास, नेपाल ग्यास कर्णाली, रासी ग्यास, मनकामना ग्यास, रेजेन्ट ग्यास तथा सैपाल ग्यासमार्फत ग्यास बिक्री–वितरण गरिएको हो।

हाल बजारमा एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको भन्दै निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र घरमा अनावश्यक रूपमा सिलिन्डर सञ्चय (स्टक) नगर्न आग्रह गरेको छ।

यस्तै, अधिकृत ग्यास विक्रेताहरूलाई ग्यास वितरण गर्दा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको छ।

साथै, बिक्रीका क्रममा खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राखी व्यवस्थित ढंगले वितरण गर्न पनि निगमले आग्रह गरेको छ।

निगमले कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक सञ्चय तथा अव्यवस्थित बिक्री–वितरण नगर्न सबै सरोकारवालालाई अनुरोध गर्दै बजारमा ग्यासको आपूर्ति नियमित र सहज रहेको जनाएको छ।