सामाजिक संजाल:

२०८२ चैत्र ७, शनिबार

सुर्खेत। कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने उद्देश्यसहित ६ बुँदे संकल्प प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतिले पारित गरिएको छ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकाल अन्तर्गत सातौँ अधिवेशनको छैटौँ बैठकले उक्त संकल्प प्रस्ताव पारित गरेको हो।

नेपाली कांग्रेसका प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले प्रस्ताव सभामा प्रस्तुत गरेका थिए।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य टेकराज पछाइ र उर्मिला विश्वकर्माले ढिलो भए पनि सकारात्मक पहल भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रस्तावमा उठेका विषयहरूको जवाफ दिएका थिए। उनको जवाफपछि संकल्प प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।

बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेश सरकारले सबै जिल्लामा समान रूपमा अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। उनले सरकारका कार्यशैलीकै कारण प्रदेश संरचनामाथि प्रश्न उठ्न थालेको टिप्पणी गरे।

यसैगरी, बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयसँग सम्बन्धित जिज्ञासाहरूको जवाफ दिँदै सेवा प्रदायक र सेवाग्राहीबीचको सम्बन्धलाई सहज र मैत्रीपूर्ण बनाउन प्रयास भइरहेको बताए।

बैठकमा कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ।

उक्त विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य रनसिंह परियार, टेकराज पछाइ र जीतबहादुर मल्लले भाग लिएका थिए। मन्त्री भण्डारीले छलफलका क्रममा उठेका विषयमा जवाफ दिएका थिए।

चर्चित