सामाजिक संजाल:

२०८२ माघ २१, बुधबार

सुर्खेत। आगामी निर्वाचनका लागि हुम्लाबाट ७ जना उम्मेदवार मैदानमा छन्। यहाँ मुख्य तीन दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ।
एमालेले दल फडेरालाई उम्मेदवार बनाएको छ। कांग्रेसले जयपति रोकायालाई अगाडी सारेको छ। नेकपाबाट डाक्टर दिपेन्द्र रोकाया उठेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट छक्क बुढा, नेकपा (माओवादी)बाट कुम्भ बुढा (निर्माण सी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टासी ल्हाजोम लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जटिल कार्की छन्।

यसअघि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका जयबहादुर शाहीले एमालेका फडेरालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन्।

कांग्रेसबाट उम्मेदवार रोकाया नोपली कांग्रेस हुम्लाका पूर्वजिल्ला सभापति हुन्। उनि पहिलोपल्ट चुनावी प्रतिस्पर्धा उत्रिएका छन्। नेपाल विद्यार्थी संघ र तरुण दल हुम्लाको अध्यक्ष हुँदै उनी दुई कार्यकाल हुम्लाको पार्टी सभापति बनेका थिए। २०४० सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी अहिले पार्टीको कर्णाली प्रदेश कार्यसमितिका सदस्यको जिम्मेवारीमा छन्।
२०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्यका लागि पार्टीले रोकायाको नाम समानुपातिक सूचीमा राखेको थिए। तर, सांसद बन्न पाएनन्।

पार्टीका केन्द्रीय सदस्य फडेरा एमालेबाट उम्मेदवार छन्। उनि २०७४ सालमा अदानचुली गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। २०७९ मा प्रदेशसभा निर्वाचन लडेका फडेरा तेस्रो भएका थिए।

उनले २०५२ सालमा अनेरास्ववियुको तेह्रो सम्मेलन प्रतिनिधि छनोट हुँदै उनले आफ्नो राजनीतिक यात्रा सुरुआत गरेका थिए।

उम्मेदवार फडेराले देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्रको सुदृढीकरण र संविधानको संरक्षणका लागि मैदान उत्रिएको बताए। ‘हुम्ला जिल्लाको समग्र विकासका लागि सडक, सिँचाइ, कृषि र पूर्वाधारलाई मुख्य आधार बनाइनेछ।’, उनले भने, ‘कर्णाली करिडोर, उत्तर–दक्षिण लोकमार्ग, ग्रामीण सडक सञ्जालको स्तरोन्नति, पुल निर्माण तथा सार्वजनिक यातायातको व्यवस्थित विस्तार गर्ने योजना छ।’

नेकपाले पार्टीका केन्द्रीय सदस्य रोकायालाई उम्मेदवार बनाएको छ। २०७४ साल पछि केही वर्ष कर्णाली प्रदेश योजना आयोगको सदस्यमा प्रदेशको नीति निर्माण तथा विकासका काम गरेका थिए। रोकाया पहिलो पटक संसदीय निर्वाचनमा भाग लिदैछन्।

रोकायाले हुम्लालाई मूलधारको राजनीतिसँग जोड्दै यहाँका भौगोलिक, सामाजिक, आर्थिक समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताए।

डाक्टर रोकायाले भावनात्मक राजनीति मात्र नभइ परिणाम देखिनेगरि काम गर्न नेकपालाई विजयी गराउन जरुरी रहेको दाबी गरे।

यस्तै, एमाले, कांग्रेस र नेकपालाई चुनौतीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिएको छ। २०७९ को निर्वाचनमा हुम्लाबाट समानुपातिकतर्फ १७१ मत प्राप्त गरेको रास्वपाले आगामी निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवार उठाएको छ।

रास्वपाले भारतको दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा राजनीतिक शास्त्र पढेकी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीकी २६ वर्षीय टासी ल्हान्जोमलाई पुराना दलसँग प्रतिस्पर्धामा उतारेको छ।

उनि सुरुमा रास्वपाको समानुपातिक बन्दसूचीमा आदिवासी जनजाति कलस्टरको महिलातर्फ पहिलो नम्बरमा परेकी थिइन्। तर, पार्टीले उनको नाम सूचीबाट हटाएर प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो। उनको नाम वर्तमान सरकारमा मन्त्रीको रूपमा सिफारिस पनि भएको थियो। तर, विवादमा तानिएपछि उनि पछि हट्नुपरेको थियो।

भारतमा राजनीतिक शास्त्र पढेर सकेपछि नेपाल फर्किएर केही समय नेपालस्थित अमेरिकी दुतावासमा पोलिटिकल र इकोनमिक सेक्सनमा काम गरेकी थिइन्।

हुम्लामा धेरै जसो नागरिकहरु आदिवासी जनजाति भएकाले उक्त समुदायहरुको मत टासीले तान्न सक्ने चिन्ता अन्य दलहरुले गरेका छन्।

यस्तो छ, विगतको निर्वाचन परिणमा
हिमाली जिल्ला हुम्लामा २०४६ सालदेखि २०७९ सम्म आइपुग्दा एउटै दलले लगातार दोस्रो पटक जितेको रेर्कड छैन्। ०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि मतदाताहरुले हरेक निर्वाचनमा फरक–फरक दल र उम्मेदवारलाई जिताएर सांसद बनाएका छन्।

०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थानापछि ०४८ सालमा भएको निर्वाचनमा हुम्लाबाट संयुक्त जनमोर्चा नेपालका छक्कबहादुर लामा, ०५१ मा कांग्रेसका चक्रबहादुर शाही, ०५६ मा एमालेका गोरखबहादुर बोगटी, ०६४ मा माओवादीका कर्णजित बुढाथोकी विजयी भए।

०७० मा कांग्रेसका जीवनबहादुर शाहीले ८ हजार ३३२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका दल रावलले ४ हजार ९३९ भोट पाएका थिए। ०६४ मा निर्वाचन जितेको माओावादी तेस्रोत हुन पुग्यो। माओवादीबाट छक्कबहादुर लामाले उम्मेदवार थिए।

उनले ४ हजार ७५९ मत ल्याए। तर, उनै लामा ०७४ को निर्वाचनमा स्वतन्त्र लड्दै निर्वाचित भए। उनले ८ हजार ४९१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धा नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत पाए।

एमाले–माओवादीबीच बनेको बम गठबन्धनबाट उम्मेदवार बनेबका माओवादीका छिमी दोर्ची लामा तेस्रो भए। उनले २ हजार ८५६ मत पाए। छिमीको बागी उम्मेदवार छक्कबहादुर उठेका थिए।
०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट छिरिङ डम्डुल लामा (कार्चेन) विजयी भए।

उनि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरु मिलेर बनेको लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार थिए। कार्चेनले १४ हजार ३७१ मत पाउँदा एमालेका दलबहादुर रावलले ९ हजार ५१६ मत पाए। राप्रपाका तेजबहादुर रावतले ३७९ पाए।

७ स्थानीय तह रहेको हुम्लामा गत स्थानीय तह निर्वाचनमा ३ स्थानीय तहको प्रमुख र अध्यक्ष कांग्रेसले तथा ३ प्रमुख तथा अध्यक्ष नेकपाले जितेको छ भने एक स्वतन्त्र उम्मेदवार विजयी बनेका छन्।

४ उपप्रमुख/उपाध्यक्ष नेकपाले र कांग्रेसले ३ ठाउँमा जितेको छ।

हुम्लामा आगामी निर्वाचनका लागि हुम्लामा ६० मतदानस्थल र ६४ वटा मतदान केन्द्र कायम भएका छन्। जिल्लाभरि ३४ हजार ३७२ मतदाता छन्।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले ६ हजार ४९३ मत पाएको छ। कांग्रेसले ४ हजार ७६४ र समाजवादीले ८८८ मत पाएको छ। एमालेको ६ हजार १४७ मत पाएको छ।

जिल्लाको दलहरुले पाएको समानुपातिक मत हेर्दा नेपाली कांग्रेसले ८ हजार १९२, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको संयुक्त ७ हजार ३६३, नेकपा एमालेको ५ हजार ९०७, नेकपा एकीकृत समाजवादीको १ हजार २१, नेकपा माओवादी समाजवादीको ७४७, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६९०, मितेरी पार्टी नेपालको ३०४ र राष्ट्रिय स्वतन्त्र पार्टी १७१ मत छ।