रुकुमपश्चिम। रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१३ का वडाध्यक्षमाथि कुटपिट भएको छ। वडाध्यक्ष श्रीकृष्ण शर्मामाथि आफ्नै वडाका एक पुरुषले कुटपिट गर्दा उनि घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार शुक्रबार बिहान वडाध्यक्ष शर्मामाथि कुटपिट भएको हो।
सोही वडाको रातामाटा टोलका २५ वर्षीय सुदिप रोकाया र उनकी श्रीमती डम्मरी रोकायाबिच झैझगडा भइरहेको सूचना पाएपछि वडाध्यक्ष शर्मा विवाद मिलाउन त्यहाँ पुगेका थिए।
उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा सुदिप रोकायाले वडाध्यक्षमाथि नै हातपात भएकाे थियाे। रोकायाले कुटपिट गर्दा वडाध्यक्ष शर्माको कम्मरमा भित्री चोट लागेको छ। उनलाई उपचारका लागि चौरजहारी अस्पताल लगिएको छ ।
स्थानीयका अनुसार रोकायाले श्रीमतीलाई लछारपछार गरी कुटपिट गरिरहेको अवस्थामा वडाध्यक्ष शर्माले रोक्न खाेजेका थिए। आवेगमा रहेका रोकायाले वडाध्यक्षलाई धक्का दिँदा उनि लड्न पुगेका थिए।
ढुङ्गामा बज्रिँदा उहाँको ढाडमा चोट लागेको हो ।
श्रीमती र वडाध्यक्षमाथि कुटपिट गर्ने रोकायालाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

