२०८२ फाल्गुन १, शुक्रबार

छिन्चु। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रवि किरण हमाल ले भेलगंगाको छिन्चुमा भव्य शक्ति प्रदर्शन गरेका छन्। कार्यक्रममा स्थानीय कार्यकर्ता, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको थियो।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही को विशेष उपस्थितिमा सम्पन्न सभाले चुनावी माहोल तताएको छ। सभालाई सम्बोधन गर्दै शाहीले सुर्खेत–१ का मतदातालाई रवि किरणलाई विजयी बनाउन आग्रह गरे।

उनले भने, ‘हाम्रो जोडी मिल्छ, हामी कर्णालीका मुद्दा संसदमा थप सशक्त रूपमा उठाउँछौँ। अब परिवर्तनका लागि युवा नेतृत्व आवश्यक छ।’

उम्मेदवार हमालले पनि शाहीसँग सहकार्य गर्दै कर्णालीका विकास, सुशासन र पहिचानका मुद्दा जोडदार रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले देशको धर्म–संस्कृति संरक्षण, सुशासन र उन्नतिको बाटोमा अघि बढ्न ‘हलो’ चिन्हमा मतदान गर्न मतदातालाई आह्वान गरे।

‘जनताको शिर कहिल्यै ननिउरिने गरी काम गर्छु,’  हमालले भने, जनताको भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो।’

भेलगंगाको छिन्चुमा देखिएको उत्साहजनक सहभागिताले सुर्खेत–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको स्थानीयले बताएका छन्।