सुर्खेत। दैलेख निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका पूर्वसहकर्मीहरुको लडाइँको फाइदा नेपाली कांग्रेसले उठाएको छ। पहिलो पटक संसदीय चुनावमा होमिएकी नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले १२ हजार ३७२ मत ल्याउँदै ‘माननीय’ बनेकी छन्। दैलेख–१ मा पूर्व एमाले नेताहरुको प्रस्तिपर्धाका कारण कांग्रेसको २०७० को बिरासत १२ वर्षपछि उल्टिएको छ।
यस क्षेत्रमा एमालेबाट रविन्द्रराज शर्मा, रास्वपाबाट नन्दकिशोर बस्नेत र नेकपाबाट अम्मरबहादुर थापा उम्मेदवार थिए। यी तीनै जना एमालेमासँगै राजनीति गरेका नेताहरु हुन्। चुनावको समयमा टिकट नपाएपछि तितरबितर भएका उनिहरु छुट्टा–छुट्टै पार्टीबाट मैदानमा उत्रिएपछि त्यसको प्रत्यक्ष फाइदा बासनाले लिइन्।
निर्वाचन अयोगका अनुसार एमालेका उम्मेदवार शर्मालाई बासनाले ६७६ मतले हराइन्। उनले ११ हजार ७९६ मत मात्रै प्राप्त गरे। २०७४ मा नेपाली कांग्रेसका उम्मेदवार जगतप्रसाद थापालाई हराएर सांसद बनेका शर्माको यो लगातार दोस्रो हार हो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच गठबन्धन भएपछि थापा नै उम्मेदवार थिए। उनले एमालेका शर्मालाई पराजित गरेका थिए। थापाले १८ हजार २५६ मत पाउँदा एमालेका शर्माले १७ हजार ४०७ मत पाएका थिए।
उनै थापा यस पटक भने ४ हजार २५६ मत ल्याएर चौथो भएका छन्।
यस्तै, रास्वापका बस्नेतले ८ हजार १५१ मत प्राप्त गरे। बस्नेत पूर्व एमालेका भएका कारण भोट काटेपछि शर्माले दोस्रो हार ब्याहोर्नु पर्यो।
राप्रपाका रणबहादुर सिंहले ५९८, नेपाल मजदुर किसान पार्टीका जगतबहादुर ओलीले ३०२, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का रामलाल बिश्वकर्माले २३५, राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंहले ९१, स्वतन्त्र लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीका मेनका श्रेष्ठले १६ मत प्राप्त गरेका छन्।
यस्तै, २०७४ को स्थानीय तहको निर्वाचनमा नारायण नगरपालिकाको उपप्रमुखमा हार ब्याहोरेकी बासनाले संसदीय चुनाव जित्दा खुसी व्यक्त गरिन्।
‘खुसी पनि लागिरहेको छ। धेरै गर्वपनि महसुस भएको छ’, चुनाव जितेबपछि बासनाले भनिन्, ‘दैलेखी जनताले एउटा चेलीलाई प्रतिनिधिसभा सम्म पुर्याउने आट गर्नुभयो। उहाँहरु सफल पनि हुनुभयो। त्यसमा एकदमै खुसी पनि छु।’ उनले विजयी गराउने मतदाताहरुलाई धन्यवाद दिँदै आफुमाथि दैलेखी जनताहरुको गरेका आशा, भरोसा, विश्वास र सपनालाई पुरा गर्ने प्रतिबद्धता जाहेर गरिन्। ‘म एक्लैले केही पनि गर्न सक्दैन्। जनताहरुले यसरी नै साथ दिनुभयो भने हामीले देखेका सपनालाई प्रतिनिधिसभामा लगेर सफल पार्नेछौ।’
यस्तै, निर्वाचित बासना २०३७ जेठ १५ गते काठमाडौं महानगरपालिका–९, मा जन्मिएकी थिइन्। उनि पहिलो पटक दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बन्दा ४ हजार ८६६ मत प्राप्त गरेकी थिइन्। उनी एमालेकी सावित्री मल्लसँग ५७७ मतले पराजित भइन्।