सामाजिक संजाल:

२०८२ चैत्र ३, मंगलवार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रूकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध घुस लिएको/दिएको आरोपमा मुद्दा दायर गरेको छ।

आयोगले आइतबार विशेष अदालत मा दायर गरेको आरोपपत्रअनुसार नगर प्रमुख वादीले करार सेवामा कार्यरत शाहसँग सेवा करार म्याद थप गरिदिने नाममा एक लाख रुपैयाँ घुस लिएका थिए।

अनुसन्धानबाट आर्थिक वर्ष २०८१/०८२ मा करार नवीकरणका क्रममा वादीले रकम माग गरेको र शाहले २०८० साउन ८ गते (२४ जुलाई २०२३) वादीको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरेको पुष्टि भएको आयोगले जनाएको छ। उक्त रकम बुझाएपछि मात्रै शाहको करार म्याद थप गरिएको थियो।

त्यसपछि चालु आर्थिक वर्ष २०८२/०८३ का लागि पुनः नवीकरण गर्दा पुनः रकम मागिएको र उपलब्ध गराउन नसकेपछि शाहलाई सेवाबाट हटाइएको उजुरीमा उल्लेख छ।

आयोगका अनुसार नगर प्रमुख वादीले आफ्नो पदको दुरुपयोग गर्दै घुस लिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको हो। उनीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा घुस रकम जफत गर्न माग गरिएको छ। साथै सार्वजनिक पदमा बहाल रहेकाले थप सजायको समेत माग गरिएको छ।

उक्त प्रकरणमा घुस दिने मोहन शाहविरुद्ध पनि सोही ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ। आयोगका अनुसार शाहले आफ्नो सेवा करार निरन्तर राख्न नगर प्रमुखलाई घुस दिएको पुष्टि भएपछि उनीमाथि पनि कैद, जरिवाना र बिगो जफतको माग गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले दुवै प्रतिवादीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।