२०८२ चैत्र ६, शुक्रबार

सुर्खेत। कर्णाली प्रदेशको पछाडि पारिएको बादी समुदायमा जन्मिएकी एक संघर्षशील युवती सीता बादी अहिले देशको संघीय संसद्‍मा पुगेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ले समानुपातिक प्रणाली अन्तर्गत दलित महिला क्लस्टरबाट उनलाई प्रतिनिधिसभा सदस्य बनाएको हो।

उनको यो उपलब्धि केवल व्यक्तिगत सफलता नभई समग्र बादी, दलित तथा सीमान्तकृत समुदायको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

२०५२ सालमा वीरेन्द्रनगर नगरपालिका–११ अन्तर्गत झुप्राखोलामा जन्मिएकी सीताले बाल्यकालदेखि नै गरिबी, छुवाछूत, सामाजिक अपमान र बहिष्कारको तीतो अनुभव भोगिन्।

नदी किनार र अस्थायी बस्तीमा बसोबास गर्ने बादी समुदायका अधिकांश परिवारझैँ उनको परिवारसँग पनि आफ्नै जग्गा थिएन। जीविकोपार्जनका लागि बालुवा उत्खनन जस्ता कठिन श्रममा निर्भर रहँदै आएको उनको परिवार अहिले पनि त्यही अवस्थामै छ।

सीताका लागि पढाइ अधिकार होइन, संघर्ष थियो। ‘पेट र पढाइमध्ये एक रोज्नुपर्ने अवस्था थियो,’ भन्ने उनी १२ वर्षको उमेरमा एउटा संस्थाबाट पाएको शैक्षिक अवसरलाई जीवनको मोड मान्छिन्। त्यसपछि निरन्तर मेहनत गर्दै उनले स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरिन्। राजनीति पढ्नु संयोग नभएको बताउँदै उनी भन्छिन्, “हाम्रो समुदाय किन सधैं पछाडि पर्छ भन्ने बुझ्न चाहन्थें।”

लामो समय सामाजिक क्षेत्रमा काम गरेकी सीता दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा र महिलालाई सीपमूलक तालिम प्रदान गर्दै आएकी छन्। चुनिखेल क्षेत्रमा हस्तकला व्यवसाय सञ्चालन गरी आफू आर्थिक रूपमा सक्षम बन्नुका साथै अन्य महिलालाई रोजगारीको अवसर पनि सिर्जना गरेकी छन्। यही अनुभवले उनलाई परिवर्तनका लागि निर्णय गर्ने ठाउँमा पुग्नुपर्ने आवश्यकता महसुस गरायो।

राजनीतिमा प्रवेश गर्दा उनले ‘तिमी कहाँ, संसद् कहाँ?’ भन्ने प्रश्न धेरै पटक सुन्नुपर्‍यो। तर उनले त्यस्ता अविश्वासलाई चुनौती दिँदै अघि बढिन्। संविधानले समानता सुनिश्चित गरे पनि व्यवहारमा विभेद कायमै रहेको उनको बुझाइ छ। “कसैले थरकै कारण सम्मान पाउँछन्, कसैले जन्मकै कारण अपमान,” उनले भनिन्।

बादी समुदायबाट पहिलोपटक संघीय संसद्‍मा प्रतिनिधित्व पाएकी सीता अब आफ्नो समुदायका आधारभूत मुद्दा—शिक्षा, स्वास्थ्य, रोजगारी र भूमिहीनताको समस्या—संसद्‍मा उठाउने तयारीमा छिन्। उनले संसद्‍मा पुग्दैमा सबै समस्या तुरुन्त समाधान हुने भ्रम नरहेको बताउँदै नीति निर्माण प्रक्रियामा पछाडि पारिएका समुदायको आवाज बलियो रूपमा राख्ने प्रतिबद्धता व्यक्त गरिन्।

“म दया होइन, अधिकारको राजनीति गर्छु,” भन्दै उनले आफ्नो यात्रा सबै सीमान्तकृत समुदायको साझा संघर्ष र आशाको प्रतीक भएको बताएकी छन्।