२०८३ बैशाख २, बुधबार

सुर्खेत। हिमा गाउँपालिका–१ देवार गाउँका छत्रबहादुर शाहीले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी २०८४ हुने स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नयाँ वर्ष २०८३ को अवसर पारेर सुर्खेतको वीरेन्द्रनगरमा शुभकामना आदान–प्रदान कार्यक्रममा औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेको शाहीले जानकारी दिए।

शाहीले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष जोडिने र विकासका कामलाई प्रभावकारी बनाउने लक्ष्य रहेको दाबी गरे।

साथै उनले स्थानीय विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

हिमा गाउँपालिकाको समग्र विकासका लागि स्वतन्त्र रूपमा अघि बढ्ने निर्णय गरेको जानकारी दिए।

शाही विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन्।