२०८३ भाद्र ३१, बुधबार

काठमाडौं। प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमकाबीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा सो पुस्तक सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको इतिहास अनुसन्धान र अभिलेखीकरणको काम कर्णालीबाट सुरु भएकोमा खुसी व्यक्त गर्दै सीमित स्रोतका बाबजुद पनि धर्म, संस्कृति र इतिहासका कुराहरू भावी पुस्तालाई हस्तान्तरण गर्न यो पुस्तक कोशेढुंगा साबित हुने धारणा राखे।

पुस्तकका लेखक नवराज महताराले विभिन्न कठिनाइ र सीमित स्रोतका बाबजुद पनि पुस्तक तयार पारिएको बताउँदै यसमा रहेका कमीकमजोरीहरूलाई आगामी दिनमा परिष्कृत गर्दै लगिने बताए। पुस्तकका बारेमा काउन्सिलका पूर्वसदस्य मनऋषि धितालले समीक्षात्मक टिप्पणी राखेका थिए।

कार्यक्रममा कर्णाली क्षेत्रका अग्रज पत्रकार तथा लेखकहरूमा मनऋषि धिताल, समीरजंग शाह, रुद्र खड्का, डा.मानबहादुर रोकाय, खेमराज वली, विद्याप्रसाद उपाध्याय, चेतनारायण पाण्डेय, मेगराज खड्का, चक्र दानी, लक्ष्मी केसी, रुद्र खड्का, राजबहादुर शाही, हरिहर न्यौपानेलगायतले कर्णालीको पत्रकारिताको बारेमा आ–आफ्नो अनुभव तथा धारणा राखेका थिए।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेको उक्त कार्यक्रममा उनले पुस्तक लेखन, सम्पादन र प्रकाशनका चरणमा भएको महेनतको स्मरण गर्दै सम्बद्ध सबैप्रति आभार व्यक्त गरे। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पुस्तकका प्रकाशनका सन्दर्भका बारेमा मन्तव्य राखेका थिए। कार्यक्रमा सहप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँसहित कर्णालीको बारेमा कलम चलाइरहने पत्रकारको उपस्थिति रहेको थियो।