काठमाडौँ। दीपेन्द्रसिंह ऐरीको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा यूएईलाई पराजित गर्दै नेपालले आइसीसी विश्वकप लिग–२ मा दोस्रो जित दर्ता गरेको छ।
शुक्रबार भएको सिरिजको तेस्रो खेलमा नेपालले यूएईमाथि डीएलएस मेथडमा ६ रनको रोमाञ्चक जित हात पारेको हो। नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो। योसँगै नेपालले जारी सिरिजमा ४ अंक जोडेको छ।
यसअघि बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएल मेथडमा १०२ रनले पराजित भएको हो।
शुक्रबार नेपालले यूएईसामु जितका लागि २९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले खेल प्रभावित भएपछि यूएईले ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य पाएको थियाे। यूएईले निर्धारित ३८ ओभरमा ८ विकेटको क्षतिमा २४८ रन मात्र बनाउन सक्यो।


