२०८३ जेष्ठ २१, बिहीबार

सुर्खेत। एकीकृत कृषि प्रयोगशालाको आयोजनमा विषादी प्रयोग मुक्त सप्ताह–२०८३ सुरु भएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत एकीकृत कृषि प्रयोगशालाको आयोजनामा जेठ १९ गतेबाट सुरु भएको सप्ताह जेठ २५ गतेसम्म सञ्चालन हुनेछ।

विषादीको बढ्दो प्रयोगलाई नियन्त्रण गर्दै सुरक्षित खाद्य प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले विषादी प्रयोग मुक्त सप्ताहको आयोजना गरिएको आयोजकलले जनाएको छ।

सम्पताहको उद्घाटन सत्रमा बोल्दै प्रयोगशाला सुर्खेतका प्रमुख परशुराज रावतले कर्णालीमा विषादीको प्रयोग बढ्दो क्रममा रहेकाले किसान तथा उपभोक्तालाई सचेत गराउन सप्ताहव्यापी अभियान सञ्चालन गरिएको स्पष्ट पारे। ‘किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आहार’ भन्ने मूल नारासहित हामीले प्रदेशकै प्रमुख तरकारी उत्पादन क्षेत्र मानिने सल्यानको कपुरकोटबाट सप्ताहव्यापी अभियानको शुभारम्भ गरेका छौँ।’ उनले भने।

यस्तै, रावतले विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य र वातावरण दुवैमा नकारात्मक असर पार्ने भएकाले यसको प्रयोगलाई व्यवस्थित र न्यून बनाउन आवश्यक रहेको उल्लेख गरे।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक चित्रबहादुर रोकायले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जनचेतनामूलक प्रचारप्रसार, जैविक विषादी तथा पासोजन्य सामग्रीको प्रदर्शन एवं वितरण, विद्यालयस्तरीय अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

उनले विषादीको प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वराशक्ति तथा वातावरणमा दीर्घकालीन असर पुर्‍याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोगबारे नागरिकलाई सचेत बनाउनु अभियानको मुख्य उद्देश्य रहेको दाबी गरे।

कर्णाली प्रदेशमा पछिल्लो समय तरकारी तथा अन्य कृषि उपजहरुमा विषादीको प्रयोग बढ्दै गएको छ।

त्यसको न्यूनीकरण र सुरक्षित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्नका लागि एक हप्तासम्म विभिन्न कार्यक्रम सञ्चालन गरेर मनाइने ‘विषादी प्रयोग मुक्त सप्ताह–२०८३’ बाट नागरिकहरुलाई राहत मिल्न्े अपेक्षा आयोजकले राखेको छ।

यस्तै, जथाभावी विषादीहरुको प्रयोगले टु, मिर्गौला लगायतका दीर्घरोगीको संख्या बढ्दै गएको छ। साथै उत्पादन बढाउने नाममा विषादीको अन्धाधुन्ध प्रयोगले आम उपभोक्ताहरुको स्वास्थ्य अवस्थामा गम्भीर असर पुर्याउँने विज्ञहरुको भनाइछ।