सुर्खेत। कर्णाली प्रदेश रङ्गशालामा बिहीबार सम्पन्न `प्रथम कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३´ को फाइनल महाभिडन्तमा आयोजक वीरेन्द्रनगर नगरपालिका (रातो जर्सी) विजयी भएको छ।
निकै रोमान्चक र कडा प्रतिस्पर्धात्मक खेलमा जुम्ला (सेतो जर्सी) लाई १–० को साँघुरो गोल अन्तरले पराजित गर्दै घरेलु टोली वीरेन्द्रनगरले ऐतिहासिक पहिलो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको हो।
खेलको पहिलो हाफमा बनेको सुरुवाती अग्रतालाई रक्षा गर्दै वीरेन्द्रनगरले उपाधी घरमै राख्न सफल भयो। उपाधी जितेसँगै ४ लाख नदग पुरस्कार पाएकाे छ।
खेलको पहिलो हाफको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए।
यसै क्रममा खेलको पाँचौँ मिनेटमा नै वीरेन्द्रनगरका जर्सी नम्बर ७७ का खेलाडी विक्रम ओलीले सानदार गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
पहिलो हाफमा जुम्लाले गोल फर्काउने केही राम्रा अवसरहरू सिर्जना गरे पनि वीरेन्द्रनगरको बलियो रक्षापङ्क्ति र गोलरक्षक बाधक बने।
दोस्रो हाफमा जुम्लाले खेललाई बराबरीमा ल्याउन थप आक्रामक प्रदर्शन गर्दै लगातार खेलाडी परिवर्तन गर्यो भने वीरेन्द्रनगरले पनि आफ्नो अग्रता जोगाउन रणनीतिक रूपमा खेलाडीहरू मैदान छिराएको थियो।
दोस्रो हाफमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि पहिलो हाफको पाँचौँ मिनेटको गोल नै वीरेन्द्रनगरको जितका लागि निर्णायक बन्यो।
फाइनल खेल अवधिभर मैदानमा निकै तनावपूर्ण र प्रतिस्पर्धात्मक माहोल देखिँदा रेफ्रीले केही खेलाडीहरूलाई चेतावनी स्वरूप कार्ड समेत देखाएका थिए।
वीरेन्द्रनगरका जर्सी नम्बर ११ का खेलाडीले खेलको ४५औँ मिनेटमा र जर्सी नम्बर ४ का खेलाडीले ५८औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए।
त्यस्तै, जुम्लाका जर्सी नम्बर ३ का खेलाडीले खेलको ४३औँ मिनेटमा पहेँलो कार्डको सामना गर्नुपरेको थियो।
यस्तै, फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई च्याम्पियन बनाउन निर्णायक भूमिका खेल्नुभएका वीरेन्द्रनगरका जर्सी नम्बर ७७ का खेलाडी विक्रम ओली फाइनल खेलको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) घोषित भएका छन्।
प्रतियोगिताको समापनसँगै विधागत उत्कृष्ट पुरस्कारहरूको पनि घोषणा गरिएको छ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका जुम्लाका धर्मेन्द्र कुँवार ‘बेस्ट प्लेयर’ घोषित भएका छन्।
वीरेन्द्रनगरका सब बुढामगर शाहीले ‘बेस्ट किपर’ को अवार्ड हात पारेका छन्।
त्यसैगरी पञ्चपुरीका दिवस वि.क. (जर्सी नम्बर १३) ‘बेस्ट डिफेन्स’, सिम्ताका तुसार आग्री ‘इमर्जिङ प्लेयर’ तथा पञ्चपुरीकै धनसिंह वि.क. प्रतियोगिताभर व्यक्तिगत ७ गोल गर्दै ‘हाई स्कोरर’ बन्न सफल बने।
विजेता टोली वीरेन्द्रनगरका मुख्य प्रशिक्षक गणेश खड्का प्रतियोगिताको ‘बेस्ट कोच’ घोषित भएका छन्।
म्याच कमिसनर रूपचन्द्र बिष्टले प्रमाणित गरेका छन्।



