२०८३ भाद्र ३१, बुधबार

दैलेख। दैलेखमा प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भदौ ३० गते मंगलबार बिहान करिब १ बजे दुल्लु बजारमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका दुई जनालाई प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनीहरूबाट प्लास्टिकले बाँधेर लुकाइराखेको ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दुल्लु नगरपालिका–६ का २२ वर्षीय जीवन भण्डारी र डुङ्गेश्वर गाउँपालिका–१ का २३ वर्षीय घनश्याम खड्का रहेका छन्।

उनीहरूको साथबाट फेला परेको पदार्थको शुद्ध तौल ८९० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर पुष्पराज राेकायाले जानकारी दिए।

उनकाअनुसार भदौ ३० गते दिउँसो करिब १ बजे नारायण नगरपालिका–६ स्थित गणेशचोकमा पनि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

चेकजाँचका क्रममा नारायण नगरपालिका–६ का २१ वर्षीय शिवराज थापाले लगाउने गरेको पाइन्टको खल्तीमा प्लास्टिकले बाँधेर लुकाइराखेको ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

थापाको साथबाट बरामद पदार्थको शुद्ध तौल ८० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीका अनुसार बरामद पदार्थ लागू औषध भए–नभएको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।