काठमाडौँ। हुम्ला र बाजुरा जिल्लाबीच उत्पन्न सीमा विवाद र त्यसपछिको झडपका विषयमा गृह मन्त्रालयमा आज उच्चस्तरीय छलफल भएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाबीचको विवादलाई तत्काल समाधान गर्न र शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चाल्ने निर्णय गरेको छ।
बैठकमा गृहमन्त्री गुरुङले दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर राजमार्ग रोक्न नपाई र तत्काल खोल्ने बाताबरण सृजना गर्न आदेश दिएको सांसद जयपति रोकायाले जानकारी दिए।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायत गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
केही समयअघि हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको विवादका क्रममा बाजुराका स्थानीय बासिन्दाहरू कुटिएका थिए।
गृह मन्त्रालयले यसअघि नै उक्त विवादको अध्ययन गर्न एक प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदन आउन बाँकी रहे पनि मन्त्रालयले दुवै पक्षबीच संवाद गराई स्थिति नियन्त्रणमा लिन पहल लिने निर्णय गरेको छ।



