४ वर्षमा साढे ८७ हजार जाँच, ४७ लाख ३७ हजारबढी राजस्व संकलन

२०८३ असार ५, शुक्रबार

वीरेन्द्रनगर। पछिल्लो समय प्रदेश जनस्वास्थ्य प्रयोगशाला कर्णालीमा सेवाग्राहीको संख्यामा वृद्धि भएको छ। चालु आर्थिक वर्षको जेठ महिनासम्म जनस्वास्थ्य प्रयोगशालाबाट ३४ हजार ५ सय ९७ जना सेवाग्राहीले लाभ लिएका छन्।

प्रयोगशालाका निमित्त निर्देशक कलमकुमार थापाले यस आर्थिक वर्षको हालसम्म १०१ प्रकारका परीक्षणहरु गरिएको जानकारी दिए। निर्देशक थापाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १० हजार २०५ जना सेवाग्राहीमा गरिएका ३४ हजार ५९७ जाँच ‌संख्याबाट १४ लाख २४ हजार २४० रुपैयाँ राजस्व संकलन भएको बताए।

उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १४४ जनामा गरिएको १ हजार ४ वटा जाँचबाट ३१ हजार २६२ रुपैयाँ, आ.व. २०८०/०८१ मा १ हजार ८२७ सेवाग्राहीमा गरिएको विभिन्न १४ हजार ७३२ प्रकारका जाँचबाट ९ लाख ५३ हजार ४६२ रुपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ७ हजार ९३९ जना सेवाग्राहीमा गरिएका ३७ हजार २५४ वटा जाँचबाट २३ लाख २८ हजार ९४४ रुपैयाँ राजस्व संकलन भएको निर्देशक थापाले जानकारी दिए।

‘प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो ४ वर्षमा गरेर जम्मा २० हजार ११५ जना सेवाग्राहीको विभिन्न ८७ हजार ५७८ रोगहरुको जाँच गरेको छ’, निर्देशक थापाले भने, ‘जसबाट ४७ लाख ३७ हजार ९०८ रुपैयाँ राजस्व संकलन भएको छ।’

जनस्वास्थ्य प्रयोगशालाबाट इम्युनोलोजी, वायोक्यामेस्ट्री, सेरोलोजी, हेमाटोलोजी, माइक्रोवायोलोजी/भिरोलोजी र पारासाइटोलोजी भित्रका विभन्न परीक्षणहरु हुँदै आएका छन्।

प्रयोगशालाका अनुसार रोगको निदानका लागि बिहान ८ बजेदेखि २ बजेमसम्म नमुना संकलन गर्ने र परीक्षणको प्रकृति अनुसार बिहान १० बजेदेखि बेलुका कार्यालय समयसम्म रिपोर्ट निकाल्ने गर्दछ।

यस्तै, माइक्रोवायोलोजी/भिरोलोजीतर्फका परीक्षणको रिपोर्ट भने नमुना दिएको १ दिनदेखि एक हप्ताभित्रमा आउने प्रयोगशालाले जनाएको छ।

साथै प्रयोगशालाबाट विभिन्न १९ प्रकारका परीक्षणहरु निशूल्क हुँदै आएका छन्।