वीरेन्द्रनगर। कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन न्यून देएिको छ। चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म करिब पुँजीगत तर्फ २७.७० प्रतिशत प्रतिशत मात्रै बजेट कार्यान्वयन गरेको छ।
बैशाख मसान्तसम्म ९ अर्ब अर्थात् कुल बजेटको २९.०३ प्रतिशत मात्रै बजेट खर्च गरेको कर्णाली प्रदेश सरकारले जेठ महिनामा मात्रै कुल बजेटको ७.२३ प्रतिशत खर्च गरेको छ। जेठ महिनामा मात्रै सरकारले २ अर्ब ४० करोड ४ लाख बराबर बजेट खर्च गरेको हो।
चालु आर्थिक वर्ष (२०८२÷०८३) मा सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको कुल बजेट ल्याएको थियो।
प्रदेश लेखा नियन्त्रकका प्रदेश लेखा प्रमुख रत्नप्रसाद सुवेदीले प्रदेशको कुल बजेट जेठ मसान्तसम्म ३६.२६ अर्थात् १२ अर्ब ३ करोड ५६ लाख ५ हजार ८५४ रुपैयाँ खर्च भएको जानकारी दिए।
अब कर्णाली सरकारसँग बाँकी एक महिना (असार) मा ६३ प्रतिशत अर्थात् २१ अर्ब १५ करोड ८० लाख बजेट खर्च गर्नुपर्ने छ।
गत वर्ष (२०८१÷०८२) जेठ मसान्तसम्म प्रदेश सरकारले ४१.७९ प्रतिशत बजेट कार्यान्वयन गर्न सकेको थियो।
अर्थमन्त्री राजीवविक्रम शाहले असार मसान्तसम्म कुल बजेटको ६३.५२ प्रतिशत अर्थात् २० अर्ब ९६ करोड २० लाख खर्च हुने बताए । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको खर्च व्यहोर्ने स्रोतमा ६ अर्ब ४१ करोड रकम बचत रकम भनेर राखिएको छ ।
जेठ मसान्तसम्म कुल बजेट खर्चको विवरण
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कुल ११ अर्ब १ करोड २१ लाख बजेट मध्ये चालु र पुँजीगत गरी ३ अर्ब ६ करोड ७३ लाख अर्थात् २७.८५ प्रतिशत खर्च गरेको छ।
यस्तै, सामाजिक विकास मन्त्रालयको कुल ५ अर्ब ७७ करोड ५६ लाख बजेट मध्ये २ अर्ब ५४ करोड ९ लाख अर्थात् ४२.५४ प्रतिशत, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आफ्नो कुल ३ अर्ब ८३ करोड ३ लाख बजेट मध्ये १ अर्ब ६० करोड ८३ लाख अर्थात् ४१.९९ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कुल २ अर्ब ५७ करोड ११ लाख बजेट मध्ये ६९ करोड २७ लाख अर्थात् २६.९४ प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कुल २ अर्ब ४२ करोड ७९ लाख बजेट मध्ये ९१ करोड १७ लाख अर्थात ३७.५५ प्रतिशत बजेट खर्च भएको छ।
यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको चालुपूँजीगत गरी जम्मा ४४ करोड २४ लाख बजेट मध्ये १९ करोड ३५ लाख अर्थात् ३१.७५ प्रतिश र आर्थिक मामिला तथा योजना मन्त्रालयको कुल २० करोड १३ लाख बजेट मध्ये ११ करोड ६ लाख अर्थात् ५४.९५ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक सुवेदीले जानकारी दिए।
७२ प्रतिशत पूँजीगत बजेट कार्यान्वयन हुन बाँकी
यस्तै, अब कर्णाली प्रदेश सरकारको खातामा रहेको ७२ प्रतिशत बजेट १ महिनाभित्रमा खर्च गर्नुपर्ने छ। चालु आर्थिक वर्ष सरकारसँग १९ अर्ब ९८ करोड २७ लाख वार्षिक पुँजीगत बजेट रहेकामा हालसम्म ५ अर्ब ५३ करोड ६१ लाख २५ हजार १८७ रुपैयाँ अर्थात् करिब २८ प्रतिशत मात्रै कार्यान्वयनमा आएको छ।
अझै १४ अर्ब बराबर पुँजीगत बजेट सरकाको खातामा छ।
यस्तै, सबैभन्दा धेरै पुँजीगत बजेट भएको भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले कुल १० अर्ब ७३ करोड १४ लाख पुँजीगत बजेट मध्ये ११ महिनामा जम्मा २७.८५ प्रतिशत अर्थात् २ अर्ब ८९ करोड १ लाख मात्रै कार्यान्वयनमा ल्याएको छ।
३ अर्ब ५५ करोडबढी वार्षिक पुँजीगत बजेट भएको ऊर्जा विकास तथा जलस्रोत मन्त्रालयले ४१.९९ प्रतिशत अर्थात् १ अर्ब ४३ करोड कार्यान्वयन गरेको छ।
यस्तै, जेठ मसान्तसम्ममा चालु बजेटतर्फ ५०.६४ अर्थात् ६ अर्ब ३७ करोड ८० लाख बराबर खर्च भएको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

