मुगु । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले तोकिएका सबै खोप समयमै पूरा गरेको सुनिश्चित भएपछि मङ्गलबार नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
नगरपालिकाका अनुसार १४ वटै वडामा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
हाल १५ महिनामुनिका चार सय ५० जना बालबालिकाले नियमित खोप सेवा लिइरहेका छन्।
नगरप्रमुख विष्णुकुमार भामले पूर्ण खोप सुनिश्चितताका लागि गरिएको घरधुरी सर्वेक्षणले १६ देखि ५९ महिनासम्मका एक हजार १७ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरिसकेकोले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको जानकारी दिए।
यस्तै, जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका खोप निरीक्षक महेश बुढाले चालु आर्थिक वर्षमा नगरपालिकाभित्र लक्षित सबै बालबालिकालाई पूर्ण खोप उपलब्ध गराउन सफल भएको जानकारी दिए।
उनले आगामी दिनमा पनि नियमित अनुगमन, जनचेतना अभिवृद्धि र स्वास्थ्यकर्मीको सक्रिय सहभागितामार्फत यो उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता व्यक्त गरे।

