वीरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगरमा सहकारी पूनर्जागरण, चुनौतीलाई अवसरमा बदल्ने रणनीति, कानूनी परिवर्तन र समाधानको योजना विषयक प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ। बिहीबार राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्खेतले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय गोष्ठीको आयोजना गरेको हो।
उक्त गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सहकारी क्षेत्रको पुनर्जागरणका लागि पारदर्शी व्यवस्थापन, सुशासन, कानुनी सुधार र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले सहकारीप्रति जनविश्वास पुनःस्थापित गर्न जिम्मेवार नेतृत्व, प्रभावकारी नियमन र सदस्यकेन्द्रित सेवा आवश्यक रहेको बताए।

उनले सहकारीलाई उत्पादन, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने महत्वपूर्ण आधारका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै समस्याको समाधानका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
साथै उनले सहकारी क्षेत्रमा रहेका एक सदस्यले ३ जना नागररिकहरुको जीवनस्तरमाथि उठाउन सहयोग गर्न पनि सुझाव दिए।
गोष्ठीमा सहकारी क्षेत्रका विद्यमान चुनौती, कानुनी सुधार, संस्थागत सुशासन तथा सहकारी पुनर्जागरणका रणनीतिबारे छलफल भएको राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्खेत शाखा प्रमुख सागरनाथ योगीले जनाकारी दिए।

उनले गोष्ठीबाट हालका दिनहरूमा सहकारी क्षेत्रमा देखा परेका विविध नीतिगत एवं व्यावहारिक चुनौतीहरू, कानुनी व्यवस्था भएका परिवर्तनका असरहरू र परिवर्तित कानूनको कार्यान्वयनमा व्यवहारिक पक्षहरूमाथि बृहत् छलफल गरी सकारात्मक सुझावहरु संकलन भएको बताए।
उनका अनुसार गोष्ठीमा कर्णाली प्रदेशका १०० भन्दा बढी सहकारीका अध्यक्ष, व्यवस्थापक तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।


