२०८३ श्रावण १३, बुधबार

वीरेन्द्रनगर। कर्णाली प्रदेशभर साउन महिनालाई मानसिक स्वास्थ्य सचेतना महिना मनाउने अभियानलाई तीव्र पारिएकाे छ। साेही अवसरमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा एक महिने मानसिक स्वास्थ्य सचेतना अभियान अन्तर्गत सोमबार ‘पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रम’ गरिएकाे छ।

निर्देशनालयका निर्देशक रविन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका सचिव रोशनी कुमारी श्रेष्ठ प्रमुख अतिथि थिइन्।

कार्यक्रममा मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाही, सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा क्रियाशील पत्रकार तथा  युनिसेफ, सिएमसि नेपाल लगायत साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रमको समापन गर्दै निर्देशक खड्काले यस अभियानलाई थप प्रभावकारी कार्यान्वयनका लागि प्रदेशका १० वटै जिल्लाका जनस्वास्थ्य सेवा कार्यालय र स्थानीय तहका स्वास्थ्य सेवा महाशाखाहरुसँग समन्वय गरेर तीव्र पारिएकाे बताए।

कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, सञ्चारमाध्यमको भूमिका, मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार तथा अभियानलाई प्रभावकारी बनाउन पत्रकार र सरोकारवालाबीच समन्वय र सहकार्यका विषयमा छलफल गरिएको थियो।

एक महिने मानसिक स्वास्थ्य सचेतना अभियानलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने सहभागीहरुले बताएका थिए।