२०८३ श्रावण २०, बुधबार

सुर्खेत। वनगाड कुपिण्डे नगरपालिका, सल्यानमा भूमि समस्या समाधानसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन उद्देश्यले “भूमि समस्या समाधान समिति सम्बन्धी कार्यविधि एवं प्रक्रियाहरूका बारेमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम” बुधबार सफलतापूर्वक सम्पन्न भएको छ।

भूमि समस्या समाधान समिति, सल्यान र वनगाड कुपिण्डे नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम नगरप्रमुख कर्णबहादुर बुढाथोकीको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाको गरिमामय उपस्थिति रहेको थियो।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, प्रहरी नायब उपरीक्षक दिपक पातली, सशस्त्र प्रहरी नायब उपरीक्षक दिपकराज गुरुङ, प्रमुख अनुसन्धान अधिकृत चन्द्रकमल खड्का, वडा नं. ४ का वडा अध्यक्ष पुष्कर बुढा, वडा नं. ६ का वडा अध्यक्ष गणेशबहादुर बुढाक्षेत्री, वडासदस्य लोकबहादुर बुढा लगायत जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा भूमि समस्या समाधानसम्बन्धी प्रचलित कार्यविधि, कानुनी व्यवस्था, प्रक्रियागत पक्ष तथा कार्यान्वयनका विभिन्न आयामहरूबारे विस्तृत प्रस्तुतीकरण, अन्तरक्रिया र अभिमुखीकरण गरिएको थियो। सहभागीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकहरूको समस्या समाधानलाई थप प्रभावकारी, पारदर्शी र समन्वयात्मक ढङ्गबाट अघि बढाउने विषयमा महत्वपूर्ण सुझाव तथा अनुभव आदानप्रदान गरेका थिए।

कार्यक्रमका सहभागीहरूले स्थानीय तह र सम्बन्धित निकायबीचको समन्वय तथा सहकार्यलाई अझ सुदृढ गर्दै भूमि व्यवस्थापन र भूमि समस्या समाधानसम्बन्धी कार्यलाई प्रभावकारी, व्यवस्थित तथा परिणाममुखी बनाउन कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।