सुर्खेत। वीरेन्द्रनगरस्थित जेबी डान्स स्टुडियो एन्ड फिटनेस सेन्टरको आयोजनामा सञ्चालन भइरहेको ‘सुर्खेत तीज डान्स आइकन २०२६’ को सेमीफाइनल चरण सम्पन्न भएको छ।
भदौ १३ गते मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा सम्पन्न सेमीफाइनलमा प्रतियोगीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। प्रतियोगीहरूको प्रस्तुति हेर्न पुगेका दर्शक तथा अभिभावकले उनीहरूको प्रतिभाको प्रशंसा गरेका थिए।
प्रतियोगिताको अडिसन चरणमा कुल ३०० जना प्रतिभाले सहभागिता जनाएका थिए। तीमध्ये प्राविधिक मूल्याङ्कनका आधारमा ७६ जना प्रतियोगी सेमीफाइनलका लागि छनोट भएका थिए। छनोट भएका प्रतियोगीमध्ये ६३ जनाले सेमीफाइनलमा प्रत्यक्ष सहभागी भई आफ्नो नृत्य कला प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपालका चर्चित कोरियोग्राफर चन्द्र मन्दिरको विशेष उपस्थिति रहेको थियो। प्रतियोगीहरूको निष्पक्ष मूल्याङ्कनका लागि नेपालगञ्जबाट आएका नवराज सुवेदी र केशव शर्मा गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा बोल्दै जेबी डान्स स्टुडियो एन्ड फिटनेस सेन्टरका प्रबन्ध निर्देशक जेनित बिष्टले प्रतियोगिताले बालबालिकामा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूमा अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्याएको बताए।
प्रतियोगिताको सेमीफाइनल कार्यक्रमलाई मानवीय सहयोगसँग पनि जोडिएको आयोजकले जनाएको छ। कार्यक्रमको प्रवेश टिकट बिक्रीबाट सङ्कलन भएको रकममध्ये ५० प्रतिशत रकम रक्त क्यान्सरबाट पीडित दुई वर्षीय बालक क्रिशको उपचार कोषमा हस्तान्तरण गरिने प्रबन्ध निर्देशक बिष्टले जानकारी दिए।
उनकाअनुसार सेमीफाइनलको आधिकारिक नतिजा भदौ १६ गते बिहान सार्वजनिक गरिने भएको छ। नतिजाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरू अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुनेछन्।
उनले सेमिफाइनल कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, निर्णायक मण्डल, अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीप्रति धन्यवाद व्यक्त गरे।

