दैलेख। पशुमा लाग्ने संक्रामक खोरेत (खुर–मुखे) रोग नियन्त्रण तथा अन्त्य गर्ने उद्देश्यले दैलेखमा व्यापक खोप अभियान सुरु गरिएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका अनुसार जिल्लाका ११ वटै स्थानीय तहमा पशुवस्तुलाई खोरेत विरुद्धको खोप लगाउने अभियान सञ्चालनमा आएको हो।
कार्यालयका अनुसार जिल्लाभर करिब ६५ हजार गाईभैंसी रहेका छन्। ती सबै पशुवस्तुलाई खोपको दायरामा ल्याउने लक्ष्यसहित अभियान अघि बढाइएको हो। अभियानअन्तर्गत भेटेरिनरी जेटीए अध्ययन गरेका तथा ३५ दिने आधारभूत तालिम प्राप्त ३५ जना पशु स्वास्थ्य खोप कार्यकर्तालाई परिचालन गरिएको छ।
खोप कार्यकर्ताहरूले गाई, गोरु, भैंसी र बुँगुरलाई एक–एक डोज खोप लगाइरहेका छन्। खोप लगाइएका पशुको पहिचान सुनिश्चित गर्न खोप कार्ड समेत वितरण गरिएको छ। आगामी वर्ष खोप कार्यक्रमलाई थप व्यवस्थित बनाउन कार्ड वितरण गरिएको कार्यालय प्रमुख प्रचण्ड खड्काले जानकारी दिए।
उनकाअनुसार प्रत्येक पालिकामा पशुवस्तुको संख्याका आधारमा कम्तीमा दुई जना र कतिपय स्थानमा तीनदेखि पाँच जनासम्म खोप कार्यकर्ता खटाइएको छ। खोप लगाएको पशुको संख्याका आधारमा प्रति पशु ३० रुपैयाँ पारिश्रमिक दिइने व्यवस्था गरिएको छ, जसले कार्यकर्तालाई उत्साहका साथ काम गर्न प्रेरित गरेको उनले बताए।
कर्णाली प्रदेश सरकारको कार्यक्रमअनुसार सञ्चालन गरिएको अभियानका लागि जिल्लाका स्थानीय तहहरूले आफ्नो वेबसाइटमार्फत सूचना प्रकाशित गरेका थिए। सोही सूचनाका आधारमा आवेदन दिएका कार्यकर्तालाई छनोट गरी परिचालन गरिएको हो। स्थानीय तहहरूले सवारी साधनको व्यवस्था तथा कृषकसँग समन्वयमा समेत सहयोग गरेका छन्।
फागुन २८ गतेदेखि सुरु भएको यो अभियान चैत १८ गतेसम्म सञ्चालन हुने छ। खुर फाट्ने प्रकृतिका सबै पशुवस्तुलाई वर्षमा एकपटक अनिवार्य रूपमा यो खोप लगाउनुपर्ने प्रावधान रहेको छ।
नेपाल सरकारले सन् २०३० सम्म सबै पशुवस्तुलाई निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएको छ। साथै दैलेखमा पालिएका करिब २ लाख १२ हजार बाख्रालाई भ्यागुते, चरचरे र पीपीआर विरुद्धको खोप कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।

