काठमाडौं। प्रहरीले नेपाल प्रेसको कार्यलयभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको छ। सादा पोशाकमा आएका प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका पत्रकार विश्वमणी सुवेदीलाई नियन्त्रणमा लिएको हो।
पत्रकार सुवेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरु कार्यालयभित्र प्रवेश गरेका थिए।
प्रहरीको भ्यानमै आएका उनीहरुले गेटमा रहेका गार्डलाई साथी भेट्न आएको भनेर भित्र छिरेका हुन्।
समाचार कक्षभित्र प्रवेश गरेर उनीहरुले पत्रकार सुवेदीलाई समाचारको विषयमा छलफल गर्नुपर्ने भएकाले आफूहरुसँग जान भनेका थिए।
समाचार कक्षमा रहेका अर्का पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी दिएका छैनन्। उनीहरुले आफूहरु अपराध अनुसन्धानबाट आएको र ‘आइजी साब’को आदेश रहेको मात्रै बताएका थिए।
सुवेदीले छलफलका लागि आउनुपर्ने भए आफ्नै मोटरसाइकलमा आउने बताए पनि प्रहरीले अनुमति दिएनन्। उनीहरुले सुवेदीलाई प्रहरीको गाडीमा हालेर लगेका छन् ।
प्रहरी स्रोतका अनुसार साइबर ब्यूरोको आग्रहमा अपराध महाशाखाले पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको हो।
नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरिक्षकमाथि राजीनामाको दबाबसम्बन्धी समाचारको स्रोत खोज्नका लागि पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ।
सुवेदीलाई अपराध महाशाखाले साइबर ब्यूरोलाई बुझाउने बुझिएको छ।





