हुम्ला। शुक्रबारदेखिको हिमपातका कारण नाम्खा गाउँपालिका-६ स्थित हिमालपारिको गाउँ लिमीमा चिसो अत्यधिक बढेको छ।
हिमपातले गर्दा शनिबार बेलुका लिमीको तापक्रम माइनस १० डिग्री सेल्सियसमा झरेको छ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार बिहीबारसम्म केही न्यानो महसुस भइरहेकोमा शुक्रबार सुरुमा वर्षा र बेलुकादेखि हिमपात भएपछि चिसो ह्वात्तै बढेको हो।
लिमीका तीनवटा गाउँमा आधा फिटभन्दा बढी हिउँ जमेको छ।
चिसोका कारण मानिसहरू घरबाहिर निस्कन कठिन भइरहेको र गाउँ सुनसान देखिएको वडा अध्यक्ष तामाङले बताए।
अत्यधिक चिसो भए पनि चौँरीगाईलाई भने गोठबाहिर निकालिएको छ।
बेमौसमी वर्षा र हिमपातले चिसो बढाए पनि किसान भने बालीका लागि फाइदा हुने आशामा खुसी देखिएका छन्।