हुम्ला। हुम्लाबाट एक गर्भवती महिलाको हवाइ उद्धार गरिएको छ। चङ्खेली गाउँपालिका–४ की ३४ वर्षीया बासना शाहीलाई जटिल स्वास्थ्य अवस्थाका कारण शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक जाँचका क्रममा गर्भमै रहेको शिशुमा गम्भीर समस्या देखिएपछि चिकित्सकहरूले तुरुन्तै उच्चस्तरीय उपचार आवश्यक भएको निष्कर्ष निकालेका थिए।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार स्थानीय स्तरमा आवश्यक उपकरण र सेवा उपलब्ध नभएकाले आमा र शिशुको ज्यान जोखिममा थियो। समयमै उद्धार गर्न सकेपछि बचाउने सम्भावना उच्च भएको छ।
उक्त उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत गरिएको हो। यस कार्यक्रमले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार सेवा उपलब्ध गराउँदै आएको छ।

