वीरेन्द्रनगर। अनेरास्ववियु कर्णाली प्रदेश कमिटिले विद्यार्थी तथा युवाको ज्ञान, तर्क क्षमता र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले ‘खुला हाजिरीजवाफ प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ।
‘विचार, ज्ञान र तर्कको संग्राम, तपाईंको टिमको पहिचान’ भन्ने नारासहित प्रतियोगिता २०८३ साल भदौ ३० गते सञ्चालन हुने अनेरास्विवयुका कर्णाली संयाेजक धर्म शाहीले जानकारी दिए।
उनका अनुसार प्रतियोगिता नेकपा एमाले जिल्ला पार्टी कार्यालय, सुर्खेतमा हुनेछ।
प्रतियोगितामा एक टिममा ५ जना सहभागी हुन पाउने व्यवस्था गरिएको छ। प्रत्येक टिममा कम्तीमा २ जना महिला अनिवार्य गरिएको अनेरास्ववियुले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट हुने टिमलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले साउन २९ गते बेलुका ८ बजेसम्म आफ्नो टिम दर्ता गरिसक्नुपर्नेछ। आयोजकका अनुसार टिम दर्ता अनलाइनमार्फत समेत गर्न सकिनेछ।
अनेरास्ववियु कर्णाली प्रदेशले प्रतियोगितामा सहभागी भई आफ्नो ज्ञान, तर्क तथा प्रतिस्पर्धात्मक क्षमता प्रस्तुत गर्न विद्यार्थी तथा युवालाई आह्वान गरेको छ।
प्रतियोगिताका लागि आयोजकले ९८५८०८६३७५, ९८६४७४५०६० र ९८६८३७८२७० नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।
‘आफ्नो टिम बनाउनुहोस्, तयारी गर्नुहोस् र जितको शिखर चुम्नुहोस्’ भन्ने आह्वानसहित खुला हाजिरीजवाफ प्रतियोगिताकाे आयोजना गरिएकाे संयाेजक शाहीले बताए।


