२०८३ भाद्र २७, शनिबार

काठमाडौं। अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

अन्नपूर्णले खेल २५–१५‚२५–२० र २५–१८ ले आफ्नो पक्षमा पार्‍यो। उपाधिसँगै अन्नपूर्णले २० लाख पुरस्कार प्राप्त गरेको छ।

अन्नपूर्णले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। उसले लिग चरणमा पाँच खेलमध्ये चारमा जित र एकमा हार ब्यहोरेको थियो। अन्नपूर्ण तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनल खेलेको हो।

कर्णालीले प्लेअफमा काठमाडौं रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिका लागि अन्नपूर्णसँगको भेट पक्का गरेको थियो। कर्णाली लिग चरणमा तालिकाको दोस्रो स्थानमा थियो। उसले पाँच खेलमध्ये चारमा खेलमा जित र एक खेलमा पराजय ब्यहोरेको थियो।

लिग चरणमा कर्णालीले अन्नपूर्णविरुद्ध ३–१ सेटको जित निकालेको थियो। कर्णाली फाइनलमा पनि सोही जित दोहोर्‍याएर उपाधि जित्ने योजनामा थियो। यता अन्नपूर्ण लिग चरणको हारको बदला लिएर च्याम्पियन बन्ने लक्ष्यमा थियो। अन्नपूर्णले सहज जित निकाल्दै उक्त लक्ष्य पूरा गरेको छ।