काठमाडौं। पूजा महतोको अर्धशतकप्रेरित नेपालले एसियन गेम्स महिला क्रिकेट छनोटमा चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङका लागि आएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२५ रनको योगफल खडा गरेको हो।
नेपालकी पूजाले ६३ रनको इनिङ खेलिन् उनले ५७ बलमा ६ चौका प्रहार गरिन्। रुवी पोदारले अविजित २२ र सोनी पाख्रिनले १८ रन बनाए।
चौथो विकेटका निम्ति पूजा र रुवीले ६४ रनको साझेदारी गरेका थिए।
चीनकी मा रुइकले दुई विकेट लिइन् । वाङ हुइयिङ र जियापिङ लीले समान एक विकेट हात पारे।
नेपाल सुखद् सुरुआतको लक्ष्यमा रहँदा चीन भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने सोचमा छ।
चीनले मंगलबार सम्पन्न पहिलो खेलमा इन्डोनेसियाविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको थियो।
यसअघि, नेपाल र चीनले दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। दुवै खेलमा नेपाल विजयी भएको छ।
नेपालले पहिलोपटक सन् २०१९ को जनवरीमा चीनसँग पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो। उक्त खेलमा नेपालले १० विकेटको जित दर्ता गरेको थियो।
पछिल्लोपटक नेपालले सन् २०१९ कै फेब्रुअरीमा चीनको सामना गरेको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल पाँच रनले विजयी भएको थियो।



