काठमाडौं। अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। कीर्तिमानी हिमपात र आँधीका कारण यातायात, विद्युत् र हवाई सेवा पूर्णतः अवरुद्ध हुँदा लाखौँ मानिस समस्यामा परेका छन्।
अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका कतिपय स्थानमा ३३ इन्च (८३ सेन्टिमिटर) सम्म हिउँ जमेको छ। न्यूयोर्कको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिमपात भएको बीबीसीले जनाएको छ। न्यूयोर्क प्रशासनले सडकको अवस्था निकै खराब र यात्रा गर्न ‘झन्डै असम्भव’ रहेको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ।
हिमआँधीका कारण न्यूजर्सी, म्यासाचुसेट्ससहित पूर्वी तटका विभिन्न राज्यमा ६ लाखभन्दा बढी घर र व्यवसायमा विद्युत् आपूर्ति बन्द भएको छ। नर्थ क्यारोलिनादेखि नर्दन मेन र पूर्वी क्यानडाका केही क्षेत्रसम्म नै हिमआँधीको चेतावनी र सतर्कता जारी गरिएको छ।
भत्कियो ४७ वर्ष पुरानो कीर्तिमान
मौसम विभागका अनुसार कतिपय क्षेत्रमा मंगलबार बिहानसम्म थप दुई फिटसम्म हिउँ थपिन सक्ने सम्भावना छ। रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा ३३ इन्च हिउँ परेसँगै झण्डै पाँच दशक पुरानो कीर्तिमान तोडिएको छ। यसअघि सन् १९७८ को फेब्रुअरीमा त्यहाँ २८.६ इन्च हिउँ जमेको रेकर्ड थियो।
अमेरिकाकै सबैभन्दा सानो राज्य रोड आइल्याण्डका लागि यो इतिहासकै सबैभन्दा ठूलो हिमपात मानिएको छ। मौसममा सुधार आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै रोड आइल्याण्ड र कनेक्टिक्टमा अत्यावश्यक बाहेकका सबै यात्रामा रोक लगाइएको छ। म्यासाचुसेट्सकी गभर्नर मउरा हिलीले दक्षिण–पूर्वी क्षेत्रमा गैर–आवश्यक सवारी सञ्चालनमा प्रतिबन्ध लगाउँदै प्रमुख राजमार्गमा सवारीको गति ४० माइल प्रतिघण्टामा सीमित गर्न निर्देशन दिइन्। उनले ‘ह्वाइटआउट’ (हिउँका कारण दृश्यता शून्य हुने अवस्था) ले गर्दा यात्रा अत्यन्तै जोखिमपूर्ण भएको भन्दै सबैलाई घरभित्रै रहन आग्रह गरिन्।
म्यासाचुसेट्सको बार्नस्टेबल काउन्टीमा मात्रै ८५ प्रतिशत बासिन्दा विद्युत्विहीन भएका छन्। यता न्यूयोर्क शहरमा लगाइएको यात्रा प्रतिबन्धका कारण ८० लाखभन्दा बढी जनसंख्या भएको यो महानगर केही समयका लागि ठप्प बनेको थियो । यद्यपि, दिउँसो १२ बजेपछि भने त्यहाँको प्रतिबन्ध हटाइएको छ।
उडान ट्र्याकिङ साइट ‘फ्लाइट अवेर’ का अनुसार सोमबार अमेरिका भित्रिने र बाहिरिने गरी कुल ५ हजार ६ सय ७५ भन्दा बढी उडान रद्द भएका छन्।
न्यूयोर्कको ला गार्डिया विमानस्थलबाट ९८ प्रतिशत र जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ प्रतिशत उडान कटौती गरिएको छ।
यस्तै लोगन, नेवार्क लिबर्टी र फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलका अधिकांश उडान समेत रद्द भएका छन्।
कनेक्टिकट र न्यूजर्सीमा ढलेका रुख र भाँचिएका हाँगाका कारण सडक यात्रा थप जोखिमपूर्ण बनेको छ। प्रोभिडेन्समा हिउँ पन्छाउने सवारीलाई अवरोध पुर्याएको भन्दै सडकमा अलपत्र परेका ३०० भन्दा बढी गाडीलाई क्रेनको सहायताले हटाइएको छ।

