मुगु। मुगु सदरमुकाम गमगढीका व्यवसायी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश उद्योग तथा वाणिज्य विभाग सदस्य शैलेन्द्र शाहीमाथि प्रहरी हिरासतभित्र कुटपिट भएको आरोप लगाउँदै निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गरिएको छ।
जारी गरिएको प्रेस विज्ञप्तिअनुसार शाहीलाई गत असार ९ गते साँझ करिब ७ बजे मुगु प्रहरीले कुनै पक्राउ पुर्जीविना नियन्त्रणमा लिएको बताइएको छ।
उनलाई असार १० गते साँझ ६ बजे मात्र रिहा गरिएको र रिहाइपछि उनको शरीरमा गम्भीर चोटपटक देखिएको रास्वापा मुगुले जनाएको छ।
विज्ञप्तिमा हिरासत अवधिमा शाहीमाथि निर्घात कुटपिट गरिएको तथा हाल उनको जिल्ला अस्पताल, ठिनीमा उपचार भइरहेको उल्लेख छ।
पीडित शाहीले उक्त कुटपिट जिल्ला प्रहरी प्रमुख (डीएसपी) को प्रत्यक्ष निर्देशनमा भएको आरोप लगाएका छन्।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा नागरिकको सुरक्षा गर्ने जिम्मेवारी पाएको निकायबाटै विना कारण पक्राउ गरी अमानवीय व्यवहार गर्नु विधिको शासन र मानव अधिकारको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमार्फत विना पुर्जी पक्राउ गरी हिरासतभित्र यातना दिएको घटनाको तत्काल निष्पक्ष छानबिन गर्न, पीडितको बयानका आधारमा दोषी देखिएका जिल्ला प्रहरी प्रमुखसहित संलग्न प्रहरी कर्मचारीमाथि कानुनी कारबाही गर्न तथा पीडितको उपचार खर्च र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ।
साथै घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिलाउन मानव अधिकारकर्मी, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा नागरिक समाजलाई सहयोग र खबरदारीका लागि अपिल गरिएको छ।


