२०८३ जेष्ठ १३, बुधबार

विराटनगर। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर कोसी प्रदेश सभामा विपक्षी दलका सांसदले विरोध जनाएका छन् भने पूर्वमुख्यमन्त्रीले माइक भाँचेका छन्।

बुधबार नीति तथा कार्यक्रममाथि संशोधन हाल्न नदिएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले प्रदेश सभामा विरोध जनाएका हुन्। उनीहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका छन्।

प्रदेश सभामा जेठ ७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका थिए। मुख्यमन्त्रीको जवाफ दिए लगत्तै सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रमलाई निर्णायार्थ प्रस्तुत गरेका थिए।

मत विभाजनका आधारमा विपक्षी दलका सांसद केही बोलेका थिएनन्। नीति तथा कार्यक्रम पारित भएपछि मात्रै नेकपाका सांसदले नियम मिचेको भन्दै प्रदेश सभामा उठेर अवरोध गरेका थिए।

बुधबारको बैठकमा पनि नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले संशोधन प्रस्ताव हाल्नका लागि दिनु पर्ने समय नदिएको बताए। १७ जना विपक्षी सांसदले नीति तथा कार्यक्रममा असन्तुष्टि जनाउँदै सुझाव दिएको भए पनि संशोधन हाल्न नदिएकाले यसलाई सच्याएर जान आग्रह गरे। ‘संशोधन हाल्न दिइनु पर्ने समयमा कुनै पनि समय दिइएन, यो हामी मान्न तयार छैनौँ,’ उनले भने।

यति बोलिसकेपछि सभामुख विष्टले सदन सुचारु गर्न जसपाको तर्फबाट दलको नेता निर्मला तावा लिम्बूलाई बोल्न समय दिएका थिए। लगतै प्रतिपक्षी दलले सदन घेराउ गरेका हुन्।

पूर्वमुख्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले रोस्टमै पुगेर माइक भाँचेका छन्। माइक भाँचेपछि सभामुख विष्ट कड्किएका थिए।

प्रदेश सभा सञ्चालन नियमावलीको दफा ३७ मा प्रदेश सभा सदस्यहरूले संशोधन हाल्न सक्ने व्यवस्था भए पनि त्यही बुँदालाई टेकेर नै सभामुखले उपयुक्त ठहर्‍याएमा मात्रै संशोधन हाल्न दिन सक्ने भन्ने व्याख्या गरेका छन्। यसलाई विपक्षीले मानेका छैनन्।

कार्य व्यवस्था परामर्श समितिमा निर्णय भएका कुरालाई दलले आफैँले कुल्चिएको सत्ता पक्षीय सांसदको भनाइ छ। सदन घेराउ गर्न गएका सांसद राईले सभामुखलाई भने, ‘तपाईँ आफ्नो तरिकाले जानुस्, हामी हाम्रै तरिकाले जान्छौँ।’

निक्कै बेरको रस्साकस्सी पछि प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।