२०८३ असार १०, बुधबार

सुर्खेत। डोल्पाको छार्का ताङसोङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै २८ करोडको बजेट ल्याएको छ। बुधबार गाउँसभाको १८औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष कर्मा ढुण्डुप गुरुङले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २७ करोड ९० लाख बराबरको बजेट अनुमान प्रस्तुत गरेका हुन्।

दुर्गम हिमाली भूगोल, स्थानीय आवश्यकता र जनअपेक्षालाई मध्यनजर गर्दै गाउँपालिकाले समग्र विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको पालिकाले दाबी गरेको छ।

प्रस्तुत बजेटले गाउँपालिकाको आर्थिक, सामाजिक, भौतिक तथा संस्थागत विकासलाई सन्तुलित रूपमा अगाडि बढाउने विश्वास लिइएको उपाध्यक्ष गुरुङले बताए।

अनका अनुसार बजेटमार्फत शिक्षा क्षेत्रको गुणस्तर सुधार, विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, स्वास्थ्य सेवाको पहुँच विस्तार, आधारभूत स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालन, कृषि तथा पशुपालनको व्यवसायीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन तथा आयआर्जन वृद्धिमा विशेष जोड दिइएको छ।

साथै हिमाली क्षेत्रको सम्भावना बोकेको पर्यटन, जडीबुटी तथा प्राकृतिक स्रोतको संरक्षण र सदुपयोगलाई पनि प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाका अध्यक्ष सेनांङ गुरुङले पालिकाले बजेटमा सडक, झोलुङ्गे पुल, खानेपानी, सिँचाइ, ऊर्जा तथा सञ्चार जस्ता पूर्वाधार विकासका कार्यक्रमहरूलाई निरन्तरता दिँदै नागरिकको जीवनलाई सहज, सुरक्षित र गुणस्तरीय बनाउने लक्ष्य लिएको बताए।

अध्यक्ष गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको सशक्तीकरण, सामाजिक सुरक्षा तथा समावेशी विकासका कार्यक्रमहरू पनि बजेटका महत्वपूर्ण पक्ष रहेका छन्।

उनका अनुसार युवा तथा खेलकुद विकास, सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन तथा स्वरोजगार सिर्जनामार्फत युवाशक्तिलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति अवलम्बन गरिएको छ।

साथै वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् जोखिम व्यवस्थापन तथा हरित विकासका कार्यक्रमहरूलाई समेत बजेटले समेटेको छ।

यस्तै, सुशासन, पारदर्शिता, जवाफदेहिता तथा सेवा प्रवाहमा सुधार ल्याई स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रशासनिक तथा संस्थागत क्षमता विकासका कार्यक्रमहरू पनि समावेश गरिएका छन्।

यस बजेटको सफल कार्यान्वयनबाट गाउँपालिकाको समग्र विकासमा नयाँ गति प्राप्त हुने, स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग हुने, नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने तथा ‘समृद्ध छार्का ताङसोङ, सुखी नागरिक’ को लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, पालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सफल कार्यान्वयनका लागि सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, विकास साझेदार, सञ्चारकर्मी तथा आम नागरिकहरु समक्ष सहयोग, सहभागिता र ऐक्यबद्धताको अपेक्षा गरेको छ।