सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचनहरु मध्ये कालीकोट र दैलेख १ मा नतिजा आइसक्दा मुगुमा भने मतपेटिका संकलन कार्य जारी छ।
अन्य निर्वाचन क्षेत्रहरुमा मतगणना प्रक्रिया जारी छ। तर, मुगु जिल्लामा भने भौगोलिक विकटताका कारण मतपेटिका दुइदिनदेखि बाटोमै छन्।
मतदान सकिएपछि २ दिन पैदल यात्रा गरेर मतपेटिका मुगु जिल्लाको सदरमुकाम गमगढी पुर्याइदैँ छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका अनुसार मुगूमकार्मारोङ गाउँपालिका–१ मा रहेको कान्जिरोवा आधारभूत विद्यालय डोल्फु र मुगूमकार्मारोङ गाउँपालिका वडा नम्बर २ को जनजागृति आधारभूत विद्यालय मुगुगाउँमा रहेको मतदास्थलको मतपेटिका संकलन भइरहेका हुन्।
डोल्फु मतदानस्थलमा २११ र मुगुगाउँमा ६०९ मतदाता संख्या छ।
मुख्य निर्वाचन अधिकृत मिनबहादुर कुँवरले मतपेटिका बाटोमै रहेको बताए। उनले दुईवटा मतदानस्थलको मतपेटिका बाटोमै रहेको बताए ।‘दिउँसो १ बजेसम्म आइपुग्छ होला। मुगुमा हेलिक्पटरको प्रयोग भएन्,’ उनले भने, ‘दुइ दिन पैदलयात्रा गरेर कर्मचारी र सुरक्षाकमीहरुले मतपेटिका मुगुको सदरमुकाम ल्याउँदै हुनुहुन्छ। आज दिउँसो बाटै मतगणना सुरु गछौँ।’
साथै उनले १ बजेसम्म मतपेटिका पुगेपछि सर्वदलीय बैठक आह्वान गरेर मतगणना सुरु गरिने बताए।

