सुर्खेत। बँदेलको आक्रमणमा परेर मृत्यु भएका ४५ वर्षीय पदमबहादुर विष्टको परिवारलाई सोमबार साढे १० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ। गत माघ २४ गते दैलेखको भैरवी गाउँपालिका–५ बैटाकुरामा गोठाला गएका बेला विष्टलाई बँदेलले आक्रमण गरेको थियो।
कर्णाली प्रदेश वन निर्देशनालयका निर्देशक शेरबहादुर श्रेष्ठले कर्णाली प्रदेश सरकारबाट १० लाख र राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाबाट ५० हजार रुपैयाँ गरी कुल साढे १० लाख रकम प्रदान गरिएको हो।
क्षतिपूर्ति रकम राष्ट्रिय प्रकृति संरक्षण कोषतर्फको मृतककी पत्नी मागिसरा विष्टलाई हस्तान्तरण गरिएको हो भने अन्य बैंक खातामा जम्मा गरिएको छ।
उक्त रकम वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम उपलब्ध गराइएको निर्देशक श्रेष्ठले जानकारी दिए।
विष्ट घरनजिकै गाईभैंसी गोठाला गएको समयमा घर फर्किने क्रममा बँदेलको आक्रमणमा परेका थिए।

