सामाजिक संजाल:

प्रतिनिधिसभा निर्वाचन-२०८२

एमाले–काँग्रेसलाई रास्वपा र नेकपाले भोट ट्रन्सफर गर्ने चिन्ता

२०८२ फाल्गुन १, शुक्रबार

सुर्खेत । आगामी फागुन २१ गते हुने आम निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। विभिन्न राजनीतिक दलले ठाउँ–ठाउँमा बृहत चुनावी आमसभा, घरदैलो गरिरहेका छन्।

एमालेको गढका रूपमा रहेको दैलेख निर्वाचन क्षेत्र नम्बर–२ मा यस पटकको निर्वाचन रोचक बन्ने भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि २०७९ मा एमाले र काँग्रेसबाट उम्मेदवार बनेका उनै अनुहार पुनःमैदानमा छन्। त्यसैमा पूर्वएमाले पृष्ठभूमीका नेता नेकपाबाट उम्मेदवार बन्दा एमालेका पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले चुनाव थप रोचक बन्ने भएको हो।

आगामी निर्वाचनका लागि २ जना स्वतन्त्रसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। एमालेले पार्टीका पूर्वपोलिटब्यूरो सदस्य लक्ष्मिप्रसाद पोखरलाई उम्मेदवार बनाएको छ। नेपाली काँग्रेसले दिक्पालकुमार शाहीलाई उठाएको छ। नेकपाबाट योगेन्द्र शाही मैदानमा छन्। रास्वपाले इन्जिनियर बखतबहादुर शाहीलाई अगाडी सारेको छ।

नेपाल मजदुर किसान पार्टीबाट बखतबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट कमलबहादुर बरै मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बबिताकुमारी शाही, नेकपा माओवादी (विप्लव)बाट कलम सिंह, आम जनता पार्टीबाट तिर्थाकुमारी बंशी मगर विक, स्वतन्त्रमा लालबहादुर कठायत र हिमबहादुर शाही उम्मेदवार छन्।

दैलेख निर्वाचन क्षेत्र नम्बर–२ नेकपा एमालेको गढका रूपमा लिने गरिन्छ। किन भने ०७४ को स्थानीय र संसदीय निर्वाचनमा एमालेले आफ्नो वर्चश्व जमाउँदा काँग्रेस शून्यमा झरेको थियो। तर, २०७९ को आम निर्वाचनमा नेपाली काँग्रेस, एमाले र एकीकृत समाजवादीबीच बनेको बाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका काँग्रेसका उनै शाहीले गढ भत्काइदिए।

शाहीले आगामी निर्वाचनका लागि एमालेबाट उम्मेदवार बनेका उनै पोखरेलाई पराजित गरेका थिए। शाहीले २० हजार १८३ मत प्राप्त गर्दा पोखरेलले २० हजार १६ मत प्राप्त गरे।

०७४ को निर्वाचनमा शून्य भएको काँग्रेसले २०७९ को निर्वाचनमा गठबन्धनको बलमा हारको बदला लियो। अहिले एमालेले आफ्नो साख फर्काउन कसरत गरिरहेको छ।

२०१९ सालमा जन्मिएका एमालेको तर्फबाट उम्मेदवार पोखरेलले २०३५ सालदेखि विद्यार्थी कालबाट राजनीतिमा सक्रिय भएका हुन्। उनले २०३८ सालमा पार्टीको सदस्यता लिए। त्यसपछि निर्वाचनलाई उपयोग गर्ने पार्टीको नीतिअनुसार २०४३ सालमा छिउडीपुसाकोट पञ्चायतमा निर्वाचित भए।

‘२०४९ सालमा छिउडी–पुसाकोट गाविसको अध्यक्षमा निर्वाचित भई लोकतन्त्र स्थापनाका लागि विभिन्न समयसम्म जेलनेलसमेत भागेको छु’, पोखरेले भने, ‘विगतदेखि अहिलेसम्म विचलित नभइ पार्टीका गतिविधमा पनि उतिकै सक्रिय छु। पार्टीको पोलिटब्यूरो सदस्य तथा संगठन विभागका सदस्यका रूपमा समेत सफलतापूर्वक काम गरिसकेको छु।’

पोखरेल २०७० सालमा संविधान सभाको सदस्यमा निर्वाचित भएर संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। २०७९ सालमा प्रतिनिधिसभा सदस्यका चुनाव लडेका उनि काँग्रेसका उम्मेदवार शाहीसँग झिनो मतान्तर १५३ मतको अन्तरले पराजय बेहोर्न पुगे। आगामी निर्वाचनमा बाम गठबन्धनको तर्फबाट उम्म्मेदवार बनेर हराएका काँग्रेसका उनै शाहीलाई बदला लिने दाउ पोखरेलको छ। ‘अहिले जनाताले बुझेका छन्’, पोखरेलले भने, ‘जनताले एमालेनै विकासप्रेमी पार्टी भएको महसुस गरेका छन्। उनिहरुमा मेरो अभाव खटकिएको छ।’

यस्तै, नेपाली काँग्रेसबाट उम्मेदवार शाही २०३६ सालबाट राजनीतिकमा होमिएका थिए। २०४३ सालमा प्रधानपञ्च लडे। २०४७ सालबाट नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य हुँदै पार्टी उपसभापति, संगठन विभाग प्रमुखको जिम्मेजवारीमा थिए। त्यतिबेला जिल्लामा शिक्षक संगठनको स्थापन समेत गरे।

२०४९ देखि २०५४ सम्म जिल्ला विकास समिति दैलेखको सदस्यमा कार्यरत थिए। हालै सम्पन्न काँग्रेसको विशेष अधिवेशनबाट केन्द्रीय कार्यसमिसि सदस्यको जिम्मेवारीमा छन्।

२०७४ सालको निर्वाचनमा प्रदेशसभामा उठेका शाही एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए। राजबहादुरले ११ हजार ४४५ मत प्राप्त गरी विजयी हुँदा उनले ८ हजार ४६९ मत प्राप्त गरे।

२०७९ को निर्वाचनमा पोखरेलाई बाम गठबन्धनको बलमा हराएर प्रतिनिधिसभा सांसद बनेका थिए। आगामी निर्वाचनमा भने उनलाई गत निर्वाचन जस्तो चुनाव जित्न सहज छैन्। विगतमाका निर्वाचनमा पार्टीले पाएको समानुपातिक मतका आधारमा काँग्रेस दोस्रो स्थानमा छ। तर, अहिले दलहरु एक्ला–एक्लै चुनावी मैदानमा हुँदा उनिहरुको शक्ति परीक्षण हुने छ।

‘३२ महिनाको कार्यकालमा दैलेख–२ को र यहाँको जनताको विकास निर्माणमा, स्वास्थ्य, शिक्षा र विभिन्न दैविक प्रकोपको उद्धार कार्यमा प्रत्यक्ष संलग्न छु’, उम्मेदवार शाहीले नेपालखबरसँग भने, ‘विगतको भन्दा अहिले सशक्त रुपमा जनताको आर्शिवाद मिल्छ भन्नेमा विश्वस्त छु। म चुनावी अभियानमा जाँदा त्यो खालको वातावरण पनि देखिएको छ। जनतामा उत्साह छ।’

यस्तै, नेकपाबाट उम्मेदवार बनेका शाही पूर्वएमाले हुन्। उनले एमालेको विद्यार्थी राजनीतिदेखि पार्टीमा ठूलो योगदान दिएका छन्। योगेन्द्र २०७९ को निर्वाचनमा दैलेखबाट प्रतिनिधिसभा अर्थात् प्रदेशसभा सदस्यमा लड्न चाहन्थे। तर, पार्टीले उनलाई टिकट नदिएपछि मनोनयनको अघिल्लो राती नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर चुनाव लडेका थिए।

प्रदेशसभामा चुनाव लडेका शाही नेकपा एमालेका उम्मेदवार विनोदकुमार शाहसँग झिनो मतान्तरले हारे। उनलाई अहिले नेकपाले उम्मेदवार बनाएको छ।

हाल नेकपाका केन्द्रीय सदस्य समेत रहेका योगेन्द्र वाम विद्यार्थी आन्दोलन हुँदै राजनीतिमा सक्रिय बनेका नेता हुन्। उनी २०५१ सालमा बाम विद्यार्थी मोर्चाको तर्फबाट १८ वर्षको उमेरमै सुर्खेत शिक्षा क्याम्पसको स्ववियु सभापति निर्वाचित भए।

२०५५ देखि २०५९ सम्म अनेरास्ववियुको प्रचार विभाग, प्रशिक्षण तथा संगठन विभाग र विदेश विभागको प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए।

यसअघि उनी पूर्वप्रधानमन्त्री झलनाथ खनालका राजनीतिक सल्लाहकारका रूपमा समेत कार्यरत थिए। साथै, ‘युथ भिजन–२०२५’ निर्माण कार्यदलको संयोजक भई काम गरिसकेका शाही कर्णाली प्रदेश योजना आयोगका सदस्य तथा उपाध्यक्षका रूपमा काम गरेका छन्।

शाहीले समग्र विकास, निर्माण र जनताको उज्यालो भविष्यका लागि आफूलाई नेकपाले उम्मेदवार बनाएको दाबी गरे। ‘राजनीतिक स्थिरता, योजनावद्ध विकास, नीतिगत सुधार र जनउत्तरदायी नेतृत्व आफ्नो मुख्य एजेन्डा छ’, उनले भने ‘सक्षम, योग्य र अनुभवी नेतृत्वलाई दैलेखी जनताले अवसर दिनेछन् भन्नेमा विश्स्तछु।’

यस्तै, रास्वपाबाट उम्मेदवार बनेका बखतबहादुर शाही पूर्वनेकपा माओवादी केन्द्र निकटका हुन्। माओवादीको सिफारिसमा विद्युत उत्पादन कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत बनेका थिए। दैलेखको दुल्लु घर भएका शाहीले २०४३ सालमा एसएलसी उत्तीर्ण गरेका थिए।

‘३९ वर्षको अवधीभर सिभिल ईन्जिनियरिंग र वाणिज्य शास्त्र गरी २ वटा विषयमा स्नातक डिग्री र जलश्रोत व्यवस्थापन विषयमा स्नातकोत्तर डिग्री गरेको छु’, ‘शाहीले भने, ‘साथै स्वदेश तथा विदेशका गैर-सरकारी तथा निजी संस्थामा काम गर्दाको ज्ञान र अनुभवलाई आफ्नो मातृभूमीका निमित्त उपयोग गर्ने उद्देश्यका साथ उम्मेदवार बनेको छु।’ साथै उनले पहिलो पटक राजनीति क्षेत्रमा आउँने आकाँक्षा पुरा भएको बताए।

दैलेखको दुल्लु, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका तथा ठाँटीकाँध र भैरवी गाउँपालिका मिलेर निर्वाचन क्षेत्र नम्बर–२ बनेको छ। यहाँ आगामी निर्वाचनका लागि ८१ हजार ५०३ मतदाता, ६६ वटा मतदान स्थल र १०४ वटा मतदान केन्द्र तोकिएका छन्।

०७४ मा पनि एमालेका राजबहादुर बुढाले २३ हजार ३२३ मतसहित विजयी हुँदा नेपाली काँग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरेका थिए।

२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षले पाएको मत हेर्दा एमालेको २१ हजार १६१ र कांग्रेसको १८ हजार ६१२ मत छ। माओवादीको ५ हजार ७५५ र समाजवादीको ८३३ छ।

यस्तै, समानुपातिक मतमा पनि नेकपा एमाले अग्र स्थानमा छ। एमालेले १७ हजार ३१७, काँग्रेसले १५ हजार ५०४, नेकपा (माओवादी केन्द्र)÷नेपाल समाजवादी पार्टी)को संयुक्त ६ हजार ३५४, नेपाल मजदुर किसान पार्टीले ३ हजार ८९८, नेकपा (एकीकृत समाजवादी)ले १ हजार ७५, राष्ट्रिय स्वतन्त्र पार्टीले ९०५ राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१८ मत प्राप्त गरेका छन्।