सुर्खेत। दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी र प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीबीच सरकारी कामकाजमा विषयमा विवाद भएको छ।
उक्त विवाद हुँदा अध्यक्ष बिसीले आफुमाथि सिसाको गिसाल प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले दाबाी गरेका छन्।
अध्यक्ष विसी र घर्तीबीच बैशाख २१ गते दिउँसो सरकारी कामकाजका विषयमा विवाद भएको थियो।
अध्यक्ष विसीको कार्यकक्षमा प्रशासकीय अधिकृत घर्ती र अध्यक्षबीच विवाद भएको थियो।
उक्त घटना बाहिरिपछि प्रमुख प्रशासकीय अधिकृत घर्तीले अध्यक्ष बिसीले आफुमाथि सिसाको गिसाल प्रहार गरेको दाबी गरेका छन्। ‘सञ्चार माध्यममा आए जस्तो कार्यपालिकाको कामकाजको विषयमा गापा अध्यक्षसँग सवाल–जवाफ हुँदा मलाइ लक्षित गरी अध्यक्ष सिसाको गिलास टेबलमा हान्दा मलाई सिसाको टुक्राले सामान्य चोटपटक लागेको छ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उक्त घटनाको सम्बन्धमा श्रीमान प्रमुख जिल्ला अधिकारी, श्रीमान सहायक प्रमुख जिल्ला प्रशासन सेवाको साथै प्रमुख जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छु।’

घर्तीले कार्यालयमा आफूलाई असुरक्षित महसुस गरेको उल्लेख गरेका छन्। घर्तीले सामाजिक सञ्जाल फेसबुकमा गरेको उक्त पोष्ट नदेखिने बनाएका छन्।
यस्तै, गाउँपालिकाका प्रवक्ता दिपेन्द्र ओलीले सरकारी कुनै सरकारी कामकाजका विषयमा विवाद भएको हुनसक्ने जानकारी दिए। उनले भने, ‘म काम विषेशले पालिका बाहिर छु। सरकारी कामकाजका विषयमा केही समस्या भएको हुनसक्छ भन्ने मेरो अनुमान हो। अन्य कुरा जानकारी छैन्।’

