२०८३ असार १०, बुधबार

डोल्पा। डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३३ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको बजेट तथा कार्यक्रम गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङ र उपाध्यक्ष पेमा वाङछेन गुरुङले गाउँसभामा प्रस्तुत गरेका हुन्।

बजेट तथा कार्यक्रमले पूर्वाधार विकास, पर्यटन, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र रोजगारमैत्री कार्यक्रममार्फत नागरिकको जीवनस्तर सुधारमा लक्ष्य समावेश गरिएको छ।

गाउँपालिकाभित्र रहेका प्रशस्त पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण तथा प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने नीति बजेटमा समावेश गरिएको छ। पर्यटन विकासलाई गाउँपालिकाको आन्तरिक आय अभिवृद्धिको प्रमुख आधारका रूपमा लिइएको छ।

भौगोलिक विकटता र परनिर्भरतालाई गाउँपालिकाको प्रमुख चुनौतीका रूपमा औँल्याउँदै बजेटमा एकीकृत बस्ती निर्माण तथा “एक गाउँ–एक उत्पादन” कार्यक्रमलाई प्राथमिकता दिइएको छ। साथै कृषि तथा पशुपालन क्षेत्रका ठूला परियोजना सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिने जनाइएको छ।

साथै शे–फोक्सुण्डो गाउँपालिकामा जन्मिएर देश तथा प्रदेशका विभिन्न विशिष्ट पदमा रहेका व्यक्तित्वहरूलाई समेटेर आगामी आर्थिक वर्षभित्रै शे–फोक्सुण्डो तालमा वृहत लगानी तथा सुझाव सम्मेलन आयोजना गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ।