२०८३ बैशाख २३, बुधबार

डोल्पा। कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतको आयोजनामा “प्रहरी युनिटसँग प्रहरी अस्पताल” कार्यक्रमअन्तर्गत डोल्पामा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ।

वैशाख २१ गते बिहान १० बजेबाट जिल्ला प्रहरी कार्यालय डोल्पामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रुक बहादुर खड्काको प्रमुख आतिथ्य रहेको थियो। उक्त शिविरमा प्रहरी कर्मचारी ९५ जना र पूर्व प्रहरी ७ जना गरी कुल १०२ जनाले स्वास्थ्य सेवा लिएका थिए।

यस्तै, वैशाख २२ गते इलाका प्रहरी कार्यालय करबगार्ड खदाङमा सञ्चालन गरिएको दोस्रो चरणको कार्यक्रममा प्रहरी कर्मचारी १२ जना र सर्वसाधारण ९ जना गरी २१ जनाले सेवा लिएका छन्।

अस्पताल प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा. श्याम कृष्ण लौडारी र प्रा.प्र.नि. डा. सञ्जिब खड्का सहित ७ सदस्यीय स्वास्थ्यकर्मी टोलीले सहभागीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण तथा सामान्य प्रयोगशाला सेवा प्रदान गरेको थियो।

कार्यक्रमअन्तर्गत प्रहरी कर्मचारीहरूको बीएमआई जाँच समेत गरिएको थियो भने अस्पताल प्रमुख डा. लौडारीले प्रहरीको दैनिकी, स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य, लागूऔषध दुर्व्यसन तथा तनाव व्यवस्थापन सम्बन्धी परामर्श कक्षा सञ्चालन गरेका थिए।

दुर्गम क्षेत्रमा कार्यरत प्रहरी तथा स्थानीय बासिन्दालाई लक्षित गर्दै सञ्चालन गरिएको यस्तो कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच विस्तारका साथै जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।