२०८३ जेष्ठ १९, मंगलवार

सिताराम बराल

काठमाडाैँ। जेठ १९, २०५८ को दरबार हत्याकाण्डमा जब युवराज दीपेन्द्रले राजा वीरेन्द्रमाथि गोली चलाए, सुरुवातमा राजा वीरेन्द्रको शरीरमा दुईवटा गोली लागेको थियो।

प्रत्यक्षदर्शीहरुले दरवार हत्याकाण्डसम्बन्धी छानविन समितिलाई दिएको वयान हेर्दा पहिलो पटकको गोलावारीमा युवराज दीपेन्द्रले तीन गोली प्रहार गरेको देखिन्छ।

त्यसमध्ये एउटा गोली सिलिंगमा लागेको थियो, दुई वटा गोली राजा वीरेन्द्रलाई लाग्यो– एउटा गोली घाँटीमा र अर्काे पेटमा।

राजा वीरेन्द्रमाथि अकस्मात गोली लागेकाले उनको शरीरबाट भइरहेको रक्तश्राव रोक्न प्रयोग गर्न सकिने कुनै चिकित्सकीय साधन त्यहाँ थिएनन्।

त्यसैले, नेपाली सेनाको चिकित्सक समेत रहेका राजपरिवारका नातेदार सहसेनानी डा. राजीव शाहले आफूले लगाएको कोट फुकालेर वीरेन्द्रको घाँटीमा भइरहेको रक्तश्राव रोक्ने प्रयास गरेका थिए।

डा. शाही पूर्व अधिराजकुमार धीरेन्द्रका जेठा ज्वाइँ हुन्।

सायद राजा वीरेन्द्रलाई घाँटी भन्दा पेटमा लागेको गोलीले बढी पीडा दिएको थियो। त्यसैले, डा. राजीवले घाँटीको रक्तश्राव रोकिने गरी कोट घाँटीमा राखेर प्रेस गरेरपछि राजा वीरेन्द्रले आफूलाई पेटमा पनि गोली लागेको जानकारी गराएका थिए।

वीरेन्द्रको रक्तश्राव रोक्न प्रयास गरिएका बेला बहिनी शोभा शाहीपनि साथैमा थिइन्। त्यहीबेला वीरेन्द्रले साथमा रहेको ग्लक पिस्तोल निकाल्न खोज्दा उनले रोकेकी थिइन्।

त्रिभुवन सदनभित्र पहिलो पटक गोली चलाएपछि युवराज दीपेन्द्र त्यहाँबाट बाहिरिएका थिए। त्यसैबेला घाँटी र पेटमा गोली लागेका राजा वीरेन्द्रको रक्तश्राव रोक्ने प्रयास गरिएको थियो।

राजा वीरेन्द्रमाथि पहिलो पटक गोली प्रहार गरेपछि युवराज दीपेन्द्र विलियार्ड हलबाट बाहिरिए।

घाइते र रक्तश्राव भइरहेपनि राजा वीरेन्द्रको ज्यान भने गइसकेको थिएन। दोस्रो पटक गोली प्रहार नभएको भए उनी बाँच्न सक्ने अवस्थामा रहेको प्रत्यक्षदर्शीहरुको वयानबाट देखिन्छ।

तर, दोस्रो पटक प्रवेश गरेर फेरि राजा वीरेन्द्रमाथि गोली चलाएपछि भने स्थिति गम्भीर बन्यो। यसपठकको गोली प्रहारमा राजा वीरेन्द्रका अलावा पूर्व अधिराजकुमार घीरेन्द्र, कुमार गोरख शमशेर, कुमार खड्कविक्रम शाह लगायतलाई गोली लागेको हो।

तेस्रो पटकको गोली प्रहारको शिकार विशेष गरी राजपरिवारका महिला सदस्यहरु बने।

दोस्रो पटकको गोली प्रहारबाट राजा वीरेन्द्र कहिल्यै उठ्न नसक्ने गरी ढले। उनलाई तत्काल छाउनीस्थित सैनिक अस्पताल लगियो। त्यही चिकित्सकहरुले राजा वीरेन्द्रको निधन भएको घोषणा गरे।

उनको रक्तश्राव रोक्न प्रयोग भएको क्याप्टेन डा. राजीव शाहीको चेक कोट भने विलियार्ड हलको उत्तर–पूर्वतर्फको भुइँमा एक हप्तासम्म थियो।

कोट भुइँमा विछ्याइएको मार्वलमाथि थियो। मार्वलभरि राजा वीरेन्द्रको रगतको टाटा थिए। धेरै दिन भइसकेकाले रगतको टाटा सुकेर उप्कन थालेका थिए।

राजी वीरुेन्द्रको रक्तश्राव रोक्न प्रयोग भएको त्यो कोटको साथमा राजा वीरेन्द्रको चस्मा र टोपी पनि थिए।